अमेरिकाबासी नेपाली मूलका ह्यारी भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा खाता खोल्न सफल भएका छन् ।
गत जुन २६ ,२०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनि दोश्रो स्थान हासिल गरि बिजयी बनेका थिए । आज सम्पन्न भएको मध्यावधि निर्वाचनमा उनि दोश्रो स्थानमा आई बिजयी भएका छन् ।
गत जुन महिनामा सम्पन्न प्राथमिक चरणको निर्वाचनमा मैदानमा उत्रिएका ४ जना प्रतिस्प्रर्धिहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए । उनलाई यस मध्यावधि निर्वाचनले ढोका खोलि दिएको छ ।
गत प्राथमिक निर्वाचनमा २० हजार ७ सय २६ खसेको मत मध्ये भण्डारीले २८.१ प्रतिसत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । उक्त चुनाव क्षेत्र जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिकक उम्मेदवारको तुलनामा प्राथमिक निर्वाचनमा कम मत पाएको आँकडाले देखाएको थियो ।