न्यान्सी पेलोसीको नेतृत्वमा रहेको डेमोक्रेटिक पार्टीले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा पाएको विजयलाई निकै बढाईचढाई प्रस्तुत गरेको भएपनि अमेरिकामा ‘नीलो लहर’ आएको भन्न मिल्दैन ।
डेमोक्रेटिक पार्टीको नीलो लहरका लागि अर्बौं डलर खर्च गरिएको भएपनि रातो रिपब्लिकन पार्टीले माथिल्लो सदन सिनेटमा बहुमत ल्यायो (अनि यससँगै राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध लगाइन सकिने महाअभियोगको सम्भावना तुहियो) । ट्रम्पले चुनावी अभियान चलाएका राज्यहरूमा रिपब्लिकन पार्टी नै विजयी भयो र उक्त पार्टीले अमेरिकाको आधुनिक इतिहासमा सबभन्दा बढी निन्दा गरिएका राष्ट्रपतिप्रति नै बफादारिता देखायो ।
सन् २०१६ मा ट्रम्पसँग हारेपछि डेमोक्रेटहरूले खासै केही सिकेको देखिएन । उनीहरूको ‘पहिचानवादी राजनीति’ अनि अमेरिकाको इतिहासमा ‘पहिलो यो, पहिलो त्यो’ खालको व्यक्ति निर्वाचित भएको भनी मनाएको उत्सवले आमजनतालाई कुनै सान्त्वना दिएन । सामान्य जनता अहिलेसम्म पनि अमेरिकी शासक वर्गले थोपरेको नवउदारवादी लुटेरा पूँजीवादका कारण आक्रान्त छन् ।
अनि महिला तथा समलिंगीलाई निर्वाचित गर्दा पनि देशलाई राम्रै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । बेलायतमा टेरिजा मे र उनीअघिकी मार्गरेट थ्याचरकै उदाहरण हेर्नुस् । सन् १९९७ मा निर्वाचित भएका १०१ महिला लेबर सांसदहरूमध्ये ९० जनाले इराक युद्धका लागि मत दिएकै हुन् (अनि एकल आमाहरूका लागि भत्ताको व्यवस्था कटाउने विषयमा मत दिएकै हुन्) ।
समलिंगी लेबर सांसदहरूले साउदी अरबलाई हतियार बिक्री रोक्नुपर्ने जेरेमी कोर्बिनको आह्वानलाई समर्थन गर्न चाहेनन् । साउदीको मान्यताअनुसार त समलिंगीहरूलाई अग्ला भवनबाट तल खसालेर मारिन्छ ।
त्यस्तै विगत २० वर्षमा बेलायती संसदमा अल्पसंख्यक तथा मुसलमान लेबर सांसदहरूले अफगानिस्तान, इराक, लिबिया तथा अन्य मुसलमान देशको विनाश गर्नका लागि मत दिएकै हुन् ।
त्यसैले अमेरिकाको फ्लोरिडा राज्यको मियामी–डेड काउन्टीबाट कंग्रेसमा पहिलोपटक मुसलमान महिला डोन्ना शलाला निर्वाचित भएकोमा कुनै उत्साह देखाउनु जरूरी छैन । ‘अरब महिलाहरूको विजय’ भनी हल्लाखल्ला
गरिएपनि बिल क्लिन्टनको क्याबिनेटकी सदस्य र हिलारी क्लिन्टनकी चम्ची शलालाले अरब महिलामाथि बम आक्रमण गर्ने प्रस्तावलाई समर्थन गर्ने कुरा सुनिश्चित छ ।
हुन त असल महिलाले चुनाव जित्नु राम्रो हो । जस्तो, न्युयोर्कमा अलेक्जेन्ड्रिया ओकासिओ–कोर्टेज र मिशिगनमा राशिदा तालिबले चुनाव जिते र ती असल सांसद हुन् ।
सन् २०१६ मा (बर्नी स्यान्डर्सविरुद्ध मतदानमा धोकाधडी गरेर) हिलारी क्लिन्टनलाई राष्ट्रपति उम्मेदवार बनाउने तिनै भ्रष्ट तथा अक्षम नेताहरूको नेतृत्वमा डेमोक्रेटहरूले दुई वर्ष बेफ्वाँकमै उडाए । उनीहरू रुसी हस्तक्षेपको छायाँ
पछ्याउँदै जासूसी संयन्त्रमा रहेका ट्रम्पविरोधीहरूसँग सहकार्य गरिरहे अनि क्लिन्टन युगको आर्थिक रूढिवादलाई अपनाइरहे । उनीहरूले गरीब तथा अल्पसंख्यक मतदाताहरूको दमनको विषयलाई उजागर गर्नै सकेनन् ।
तपाईं बाजी थाप्ने खालको हुनुहुन्छ भने डोनल्ड ट्रम्पले सन् २०२० मा फेरि राष्ट्रपति पद जित्ने विषयमा बाजी लगाउनुभए हुन्छ ।
मतदाताहरूको दमन कुन मात्रामा भएको छ भन्ने कुरा फ्लोरिडामा गत साता अपराधीहरूलाई फेरि मतदाता सूचीमा चढाइएबाटै प्रस्ट हुन्छ । (तीमध्ये अधिकांश काला जातिका अपराधी हुन् ।) बुधवार बिहान फ्लोरिडामा काला
जातिका ४० प्रतिशत पुरुषले आफ्नो मतदान अधिकार पुनःस्थापित गरिएको थाहा पाए । त्यो भनेको अर्को चुनावमा दश लाख नयाँ काला जातिका मतदाता हुन् ।
चुनावको राति आठ घन्टासम्म सीएनएन हेरेपछि मैले एउटा कुरा थाहा पाएँ । डेमोक्रेटहरूको नयाँ ‘उम्मेदवार छनोट रणनीति’ का बारेमा निकै हल्लाखल्ला गरिएको थियो । त्यसलाई मसिनो गरी केलाउँदा थाहा पाइयो, मध्यावधि
निर्वाचनमा एक सय डेमोक्रेटिक उम्मेदवारहरू पूर्वसैनिक थिए वा सीआईए तथा अन्य सुरक्षा निकायका पूर्वसदस्य थिए । मजदूरहरूको पार्टी भनी चिनिने डेमोक्रेटहरू कसरी मजदूरबाट टाढिएका छन् भन्ने यसले उचित वर्णन गर्छ
।
डेमोक्रेटहरूले अबको दुई वर्ष ट्रम्पका बैंक रेकर्ड र कर चुक्ताका विषयमा अनि उनले संसारभरि खोलेका गल्फकोर्सको बारेमा अध्ययन गरेर खेर फाल्नेछन् । उनीहरूले अघिल्लो दशकको भन्दा राम्रो स्वास्थ्य नीति ल्याउने
विषयमा सोच्ने छैनन् । उनीहरूले युवालाई कलेजको पैसा तिर्ने, मजदूरहरूको तलब प्याकेज बनाउने वा रोजगारी सुनिश्चित गर्ने, विभिन्न जातिबीचको खाडल पुर्ने र अमेरिकामा काला जातिका युवकहरूको कारागारगमनलाई
घटाउने विषयमा केही पनि काम गर्ने छैनन् ।
उनीहरूले बन्दूक नियन्त्रण वा वातावरण संरक्षणका विषयमा पनि केही योगदान गर्ने छैनन् । त्यसो गर्दा उनीहरूका अर्बपति समर्थकहरूलाई अप्ठ्यारो परिहाल्छ नि । उनीहरूले भत्किसकेको व्यवस्थाको उपचारका लागि कुनै
सार्थक लोकतान्त्रिक सुधार प्रस्ताव गर्ने छैनन् । (उदाहरणका लागि, जर्जियामा गरीब र मुख्यतया काला जातिको बाहुल्य रहेका जिल्लाहरूमा भोटिङ मशिन लगियो तर तिनलाई बिजुलीको प्वालमा जोड्नका लागि तार नै थिएन ।)
अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त, उनीहरू पहिले झैं संसारभरि सत्ता परिवर्तनका लागि हानथाप गरेर बस्नेछन् ।
उनीहरूले अनेक षड्यन्त्र गरेर बर्नी स्यान्डर्सलाई आफ्नो पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्न दिने छैनन् । अनि ट्रम्पको भाग्य जागेको छ भने उनीहरूले प्राइमरीमा घोटाला गरेर हिलारी क्लिन्टनलाई फेरि आफ्नो उम्मेदवार
बनाउनेछन् । कस्ता हुन् यी डेमोक्रेट ? कस्तो हो यो पार्टी ?
अनि विश्वले अर्को चार वर्ष फेरि ट्रम्पलाई झेल्नुपर्ने हुन्छ । उनका अनियन्त्रित ट्वीट तथा अन्य छुच्याइँ सहनुपर्ने हुन्छ ।
आरटीमा प्रकाशित जर्ज ग्यालोवेको विश्लेषणको भावानुवाद