आप्रवासीहरूलाई अमेरिकामा शरण दिने विषय अमेरिकाको सबभन्दा ठूलो राजनीतिक मुद्दामध्ये एक हो ।
यसमाथि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र अमेरिका नजिकका देशहरूको टिप्पणी आइरहेको हुन्छ । यी प्रतिक्रियाहरू कहिले आप्रवासीको समर्थनमा, कहिले विरोधमा आउँछ ।
यसैबीच ट्रम्पले एउटा बयान दिएका छन् । दक्षिणी सीमाबाट अमेरिकामा शरण माग्न आउने प्रवासीहरूलाई कानूनी प्रक्रिया पूरा नहुन्जेल मेक्सिकोमा प्रतीक्षा गर्नुपर्ने बताएका छन् ।
ट्रम्पले एक ट्वीट गर्दै लेखे, ‘दक्षिणी सीमामा प्रवासीहरूलाई अदालतमा कानूनी प्रक्रिया पूरा नहुन्जेल अमेरिका प्रवेशको अनुमति दिइनेछैन ।’
यसको अर्थ ट्रम्पले कानूनी प्रक्रिया पूरा गरेका आप्रवासीलाई अमेरिका छिर्न दिन सक्छन् भन्ने लगाउन सकिन्छ ।
मेक्सिको सरकारले अमेरिकी प्रवास नीतिका लागि ट्रम्प सरकारको योजनालाई समर्थन दिनका लागि सहमत भएको भनी द वाशिङटन पोस्टमा प्रकाशित रिपोर्टपछि ट्म्पको यो ट्वीट आएको हो ।