अमेरिकी सिनेटले साउदी अरबको नेतृत्वमा यमनमा चलिरहेको युद्धमा अमेरिकी मद्दत समाप्त गर्न र पत्रकारको हत्यामा साउदीका युवराज मोहम्मद बिन सलमानलाई जिम्मेवार मान्ने पक्षमा मतदान गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यी दुबैको विपक्षमा थिए । उनको प्रशासनले नै यी बिलको विरोध गरिरहेका कारण यो उनका लागि ठूलै झट्का मानिएको छ ।
पत्रकार जमाल खासोग्गीको हत्याको विषयमा अमेरिकाका पुराना सहयोगी साउदी अरबको आलोचना गर्न डेमोक्रेट्सले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिक पार्टीका सिनेटर्सको पनि साथ पाएको छ ।
यमनमा अभियान चलाइरहेको साउदी अरबलाई थप सहयोग नगर्ने र खासोग्गीको हत्याका लागि मोहम्मद बिन सलमानलाई जिम्मेवार बताउने यो प्रस्तावको पक्षमा ५६ मत खसेको छ जबकी विरोधमा ४१ भोट हालिएको छ ।
तर, ट्रम्पले यो मामलामा भिटो गर्ने जानकारी दिएका छन् र हाउस अफ रेप्रिजेन्टेटिभ्समा यो बिल पारित हुन निकै समस्या छ ।
अमेरिकी सिनेटमा पारित यो प्रस्तावमा साउदी अरबसँग आफ्नो ‘अस्थिर विदेश नीतिलाई नरम’ बनाउन पनि भनिएको छ ।
ट्रम्पका लागि झट्काः
पछिल्लो महिना अमेरिकाले साउदी अरबको लडाकू विमानमा इन्धन भर्न बन्द गरेको थियो ।
तर बिहिबार सिनेटबाट पारित भएको यो प्रस्ताव यदि कानूनको रुपमा पारित भए भविष्यमा पुनः अमेरिकाले साउदी विमानमा इन्धन भर्न पाउने छैन ।
यो कदमलाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि राजनीतिक रुपमा लज्जाको रुपमा हेरिएको छ किनभने उनले युवराज मोहम्मद बिन सलमानको आलोचना गर्न अस्विकार गरेका थिए ।
ट्रम्पले साउदी अरेबिया अमेरिकीको असल मित्रको रुपमा रहेकाले राजकुमारमाथि आरोप लगाउन नमिल्ने तर्क बमरम्बार राख्दै आएका छन् ।