केन्टकीमा एकै परिवारका पाँच जनाको मृत्यु

केन्टकीमा एकै परिवारका पाँच जनाको मृत्यु
अमेरिका

एक जना मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मिसिगनबाट आउँदै गरेको सवारी साधनलाई आइतबार बिहान ठक्कर दिएको बताएका छन् । दुर्घटनामा पिकअप चालकको पनि मृत्यु भएको छ ।

केन्टकीको इन्टरस्टेट राजमार्गमा उक्त दुर्घटना बिहानीपख साढे दुई बजे भएको थियो । प्रहरीका अनुसार दुर्घटना हुनासाथ एसयुभी कारमा आगो सल्किएको र परिवारका सबै पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मिसिगनको नर्थभिलमा बसोबास रहेको उक्त परिवार फ्लोरिडामा छुट्टी मनाएर घर फर्कदै थियो । प्रत्यक्षदर्शी केनेथ डीग्याफले पिकअप ट्रक उल्टो बाटो हिँडेको र आफूसँग पनि उक्त गाडी ठोक्किनबाट जोगिएको बताउनुभयो । “त्यो पिकअप ट्रक बीच बाटो (लेन)मा उल्टो दिशातर्फ दौडिरहेको थियो । मैले आफ्नो सवारीलाई बल्लतल्ल जोगाएर दाहिने लेनमा लैजानु परेको थियो । मेरो विचारमा त्यो गाडी गुडिरहेको होइन, उडिरहेको थियो ।”

प्रहरीले मारिनेहरुमा इसाम अब्बास र रीमा अब्बास तथा उनीहरुका तीन जना छोराछोरी अलि अब्बास, इसाबेला अब्बास र गिसेल अब्बास रहेको जनाएको छ ।

पिकअप ट्रकका चालक भने जर्जटाउनका ४१ वर्षीय जो ली बेली रहेका छन् ।

इन्टरस्टेट राजमार्गमा पछिल्ला केही दिनहरुमा भएका दुर्घटनाहरुमा मृत्यु हुनेहरुको संख्या बढेको प्रहरीले जनाएको छ ।
––

Post Comment