ह्वाइट हाउसमा ट्यांकनिरोधी रकेटबाट आक्रमणको षड्यन्त्र रच्ने एक व्यक्तिलाई अमेरिकी प्रहरीले बुधवार पक्राउ गरेको छ । आरोपित व्यक्ति बन्दूक र विस्फोटक सामग्री किन्नका लागि कार बेच्न जाँदा पक्राउ परेको हो ।
अमेरिकी अटर्नी ब्युङ जे पाकले बताएअनुसार, जर्जियाको क्युमिङमा बस्ने हाशेर जलाल ताहिबलाई बुधवार पक्राउ गरिएको हो ।
अदालतमा एफबीआई एजेन्टले दायर गरेको बयानअनुसार, यस सम्बन्धमा गोप्य सूचना पाएपछि स्थानीय कानून कार्यान्वयन निकायले मार्च महिनामा एफबीआईसँग सम्पर्क गरेको थियो ।
ताहिब नामक व्यक्ति कट्टरपन्थी बनेको र उसले नाम परिवर्तन गरेर विदेशयात्रा गर्ने योजना बनाएको थियो । उसमाथि एफबीआईले निगरानी गरिरहेको थियो । ताहिबले अक्टोबर महिनामा एफबीआईको एक गुप्तचर सूत्रलाई बताएअनुसार उसले हिज्रका लागि विदेश जाने योजना बनाएको थियो । उसले इस्लामिक स्टेटले नियन्त्रण गरेको कुनै क्षेत्रको यात्रा गर्ने उद्देश्य बनाएको एजेन्टले लेखे ।