अमेरिकाको म्यानहटन शहरको एक अपार्टमेन्ट दुई सय ३८ मिलियन डलर (२७ अर्ब रुपैयाँ) मा बिक्रि भएको छ ।
यसका साथै यो अमेरिकामा बिक्रि हुने अहिलेसम्मको सबैभन्दा महँगो घर बनेको छ ।
यो चार तल्ले भवन २२० सेन्ट्रल पार्क साउथमा रहेको छ । यसलाई अत्यधिक महँगो इलाका मानिन्छ ।
यो घरलाई अर्बपती केन ग्रिफिनले खरिद गरेका हुन् । ग्रिफिन हेग फन्ड इन्भेस्टमेन्ट कम्पनी सिटाडेलका संस्थापक हुन् ।
५० वर्षका ग्रिफिनले सोमबार नै लण्डनको बकिंघम प्यालेस नजिकैको महँगो घर खरिद गरेर चर्चा बटुलेका थिए । यो घरको मूल्य १२४ मिलियन डलर ( १४ अर्ब रुपैयाँ) थियो ।
यसबाहेक ग्रिफिनको नाममा मिआमीमा पनि सबैभन्दा महँगो घर खरिद गरेको रेकर्ड छ, जहाँ उनले सन् २०१५ मा ६० मिलियन डलर (६ अर्ब रुपैयाँ) मूल्यको घर खरिद गरेका थिए । उनको शिकागोमा तीन महँगा घर, फ्लोरिडाको पाम बीचमा ६ र हवाईमा दुई घर छन् ।
सेन्ट्रल पार्कको यो घरअघि अमेरिकाको सबैभन्दा महँगो घर सन् २०१४ मा १३७ मिलियन डलर (१५ अर्ब रुपैयाँ) मा बिकेको थियो ।