अमेरिकी महिला सैनिक जसले इरानको लागि जासुसी गरिन्

अमेरिकी महिला सैनिक जसले इरानको लागि जासुसी गरिन्
अमेरिका

अमेरिकी अभियोजनकर्ताहरूले अमेरिकी वायुसेनाकी एक पूर्व अधिकृतमाथि इरानका निम्ति जासुसी गरेको र आफ्ना मित्र अधिकृतहरूलाई समेत निशानामा पारेको अभियोग लगाएका छन्।

सन् २०१३ मा इरान भागेको ठानिएकि मोनिका विटले विगतमा अमेरिकी प्रतिजासुसी अधिकृतको रूपमा काम गरेकी थिइन्।

विटका साथी अधिकृतहरूको कम्प्युटरमा जासुसी सफ्टवेयर जडान गर्ने प्रयास गरेको अभियोग अन्य चारजना इरानी नागरिकमाथि पनि लगाइएको छ।

संघीय जाँच ब्युरो एफबीआइका अनुसार विटलाई पछिल्लोपटक दक्षिणपश्चिम एसियामा जुलाई २०१३ मा देखिएको थियो।
अभियोजनकर्ताहरूका अनुसार विटलाई उच्चस्तरको सुरक्षासम्बन्धी अनुमति प्राप्त थियो र उनले अमेरिकी वायुसेनामा सन् १९९७ देखि २००८ सम्म काम गरेकी थिइन्।

यो जासुसी प्रकरणमा मुछिएको आरोपमा अमेरिकी अर्थमन्त्रालयले न्यू हराइजन अर्गनाइजेसन तथा नेट पेगार्ड सामाभाट कम्पनी नामक दुई इरानी कम्पनीविरुद्ध पनि आर्थिक प्रतिबन्ध लगाएको छ।

“अमेरिकाको निम्ति यो दुखद दिन हो जब उसको एक नागरिकले देशलाई धोका दिइन्,” सहायक महान्यायाधिवक्ता जन डेमर्सले भने।

के छन् आरोप?
विटले अमेरिकी सरकारका गोप्यता भङ्ग गरेको आरोप लागेको छ। उनले सन् २०१२ को जनवरीदेखि नै एजेन्टहरूको नाम तथा तिनका कार्यका विवरण चुहाइदिएको आरोप छ।

आरोप पत्रमा अनुसन्धानकर्ताहरू लेख्छन्, ती ३९ वर्षीया महिलालाई अमेरिकाले गोप्य प्रतिजासुसी कार्यका निम्ति मध्यपूर्वका विभिन्न क्षेत्रमा खटाएको थियो।

इरान भाग्नु केही समय अगाडि ती महिलाले अमेरिकालाई गम्भीर क्षति पुर्‍याउने उद्देश्यले आफ्ना सहकर्मीहरूबारेका जानकारी हस्तान्तरण गरिदिएकी थिइन्।

अधिकारीहरूका अनुसार उनले सन् २०१२ मा आफ्ना इरानी सम्पर्कसूत्रलाई सन्देश पठाउँदै लेखेकी थिइन्, “मेरो काम म मन पराउँछु र मैले पाएको प्रशिक्षणलाई म असल नभइ खराब रूपमा प्रयोग गर्न चाहन्छु। मलाई अवसर दिएकोमा धन्यवाद।”

अनुसन्धानकर्ताहरूका अनुसार इरानी न्यासनल गार्डको कुड्स फौजका लागि काम गर्ने न्यूहराइजन अर्गनाइजेसनले आयोजना गरेको दुईवटा कार्यक्रममा भाग लिएपछि मोनिका विटलाई सहभागीहरूबारे जानकारी बटुल्न आग्रह गरेर जासुसी गर्न सुरु गराइएको थियो।

को हुन् मोनिका?
मोनिका एल्फ्रिड विट टेक्ससकी पूर्व बासिन्दा हुन्।

एक दशकसम्म काम गरेपछि सन् २००८ मा उनले अमेरिकी वायुसेना छाडिन्।

यसअघि एफबीआइले जारी गरेको हराइरहेका मानिसहरूबारेको जानकारीमा उनी अफगानिस्तान या ताजिकिस्तानमा अङ्ग्रेजी भाषा शिक्षिकाको रूपमा कार्यरत रहेको उल्लेख छ।

साथै हराउनुभन्दा एक वर्षअघि देखि उनी विदेशमा रहेको बताइएको छ।

इरानमा रहँदा उनले इस्लाम धर्म अपनाएको बताइन्छ। त्यहाँ उनले टेलिभिजनमा प्रस्तुत हुँदै आफूलाई पूर्व अमेरिकी सैनिक भन्दै अमेरिकाको आलोचना गरेकी छन्।

भागेको केही हप्तामा उनले आफ्ना पुराना सहकर्मीहरूबारे फेसबुकमा निकै सोधखोज गरेको र उनले एक एजेन्टको वास्तविक पहिचान खुलाइदिएर ती व्यक्तिलाई जोखिममा पारिदिएको ठानिएको छ।

हाल उनी हराइरहेकी छन् र उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

Post Comment