अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको तौल पछिल्लो पटक उनको चिकित्सकीय जाँच भएको भन्दा बढेको छ तर उनी ‘एकदमै स्वस्थ’ रहेको उनका आधिकारिक चिकित्सक सन कोन्लेले बताएका छन्।
ट्रम्पलाई अब उनको कोलेस्टेरोल स्तर घटाउन थप मात्राको औषधि दिइनेछ।
गत साता गरिएका जाँचमा उनको वजन ११० किलो रहेको पाइयो। एक वर्षअघि उनी करिब १०८ किलोका थिए।
उनको उचाइ ६ फिट ३ इञ्च रहेको छ।
अन्य चिकित्सकहरूले उनको बडी मास इन्डेक्स ‘बीएमआइ’ भनिने तौल र उचाइको अनुपातसम्बन्धी सूचकले ३० नाघेको हुनाले उनी चिकित्सकीय भाषामा ‘मोटो’ भएको जनाएका छन्।
राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन राष्ट्रिय संकटकाल घोषणा गर्न लागेको अधिकारीहरूले जानकारी दिएको केही मिनेटमा उनको स्वास्थ्यसम्बन्धी जानकारी दिइएको थियो।
चुनावी अभियानताका उनले एउटा पत्र प्रदर्शन गर्दै आफू राष्ट्रपति पदमा निर्वाचित हुने ‘हालसम्मकै सबभन्दा स्वस्थ व्यक्ति’ हुने दाबी गरेका थिए। सो पत्रमा हस्ताक्षर गर्ने चिकित्सकले पछि उक्त पत्र ट्रम्प स्वयंले लेखेको बताएका थिए।
गत वर्ष ती डाक्टर रोनी ज्याक्सनले राष्ट्रपतिको जीन असाध्यै बलियो भएको र उनले राति चार वा पाँच घण्टामात्रै सुत्ने गरेको तथ्यले चिन्ता नजन्माउने बताएका थिए।
पछिल्लो वार्षिक जाँचपछि डाक्टर कोन्लेले उनमा कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको बताए।
उनको नाक, कान, आँखा, मुख, दाँत, गिजा, मुटु, फोक्सो, छाला, पेट तथा न्युरोलोजी प्रणालीमा कुनै गम्भीर समस्या नपाइएको जाँचपछिको टिपोटमा उल्लेख छ।
उक्त विवरण अनुसार उनले लिँदै आएको कोलेस्टोरल नियन्त्रण गर्ने औषधि रोसुभ्यास्ट्याटिनको मात्रा चाहिँ १० एमजीबाट ४० एमजी पुर्याइएको छ।