अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जन्मदिनको अवसर पारेर आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रका लागि अमेरिकाले नयाँ योजना सार्वजनिक गर्न लागेको बताएका छन्।
शुक्रबार राष्ट्रपति ट्रम्पले आगामी २ हप्तामा धेरैलाई सरप्राइज बनाउने गरी यस्तो घोषणा गर्न लागिएको बताएका हुन्।
शुक्रबार ७३ वर्षमा प्रवेश गरेका राष्ट्रपति ट्रम्पले सबैभन्दा पहिले अमेरिकी प्रशानसमा काम गर्ने उच्च अधिकारीलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्नुभन्दा पहिले नै उपस्थित उच्च अधिकारीले ट्रम्पलाई ‘ह्याप्पी बर्थ डे टु यु’ भन्दै जन्मदिनको शुभकामना दिए। शुभकामना ग्रहण गर्दै ट्रम्ले सबैलाई धन्यवादका शब्द धेरै पटक दोहोर्याए।
साना व्यवसाय फस्टाउँदै गएको विषयबाट सम्बोधन सुरु गरेका ट्रम्पले लामै समयसम्म अमेरिकी स्वास्थ्य क्षेत्रका बारेमा सम्बोधन गरेका थिए।
दुई वर्ष पहिले मात्र आफूले अमेरिकी स्वास्थ्य क्षेत्रमा सुधार गर्न कानुनमा हस्ताक्षर गरेको स्मरण गर्दै उनले उनले अमेरिकी स्वास्थ्य उपचार प्रणाली सस्तो बनाउन काम गर्न सोही समयदेखि लागी परेको बताएका थिए।
‘हामीले थुप्रै अल्पकालीन योजना पनि कार्यान्वयनमा ल्याएका थियौँ। लाखौं अमेरिकी जनताका पक्षमा ल्याएको सो कानुनले करिब ६० प्रतिशत स्वास्थ्य बिमा सस्तो भएको छ,’ उनको दाबी थियो।
‘विगत ५० वर्षभन्दा बढी समयको तुलनामा औषधिको मूल्य कम भएको छ। यसमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
तर आफूले संसदमा निकै कम सहयोग पाएको गुनासो उनको थियो।
‘बालबालिकामा हुने क्यान्सरका सम्बन्धमा पनि हामीले नयाँ कुरा पत्ता लगाएका छौं,’ उनले भने।
‘हामीले संसद्बाट मेडिकल भवन बनाउने गरी नयाँ कानुन पास गर्ने तयारी गरिरहेका छौं। हामीले अबका करिब २ हप्तापछि अर्को ठुलो घोषणा पनि गर्न गइरहेका छौँ। यो कुरा धेरैलाई थाहा छैन। तर जब यो घोषणा हुन्छ निकै ठुलो सरप्राइज हुन्छ।’
आर्थिक पारदर्शिता र उपचार अझ सस्तो बनाउन आफूहरु प्रयासरत भएको उनले बताएका थिए।