अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको डिसी मेट्रो सप्ताह कार्यक्रमको पहिलो दिन २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको छ ।
भर्जिनियाको फेयरफ्याक्स स्थित लोटस टेम्पल(मन्दिर )परिसरमा सप्ताह महापुराणको आयोजना गरि नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको डिसी मेट्रो सप्ताह सुरु हुनु अगाडी नै उक्त रकम संकलन भएको हो । आयोजकले अमेरिकाको पूर्वीय समय ८:०० बजे सम्म २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको जानकारी दिएका छन् ।
संकलन वृद्धि हुने क्रम जारी रहेको छ । जुन २२ देखि २९ सम्म संचालन हुने सप्ताहको पहिलो दिन कलस यात्रा बिशेष कार्यक्रम मात्र रहेको थियो । ४ सय कलस नेपालबाट झिकाइएको मध्ये सबै समाप्त भएको थियो । मन्दिर ३ पटकको परिक्रमा पछि कलस सप्ताह पुराण मंच अगाडी राखिएको छ भने विधिवत रुपमा सप्ताहको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यकममा पाँच दशक भन्दा बढी समय अमेरिकामा रहनु भएका प्रा.डा. विष्णु पौडल मुख्य सल्लाहकार ,सप्ताह संयोजक अरुण रुपाखेती ,सप्ताह तथा नेपाली अमेरिकन सामुदायिक केन्द्रका सामाजिक अभियन्ता ददिराम ढुंगाना ,सप्ताह कै अर्का अभियन्ता गोपाल रेग्मी तथा नेपाल बाट सप्ताहको लागि झिकाइएका पण्डित वाचन प्रवीण दीनबन्धु पोखरेलले सप्ताह को बारेमा बोलेका थिए ।
उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरु रहेका छन् । मूल आयोजक समितिमा विभिन्न समुह उपसमुहहरु बनाई कार्य विभाजन गरिएको छ । डिसी मेट्रो सप्ताह तयारी समितिले आयोजकमा नाम दर्ता गर्नु भएका सवै १२ सय २४ जनाको नाम पनि सार्वजनिक गरेको छ ।