अमेरिका र इरानबीचको तनाव कम पार्न तेहरान जान सक्ने पम्पिओको भनाइ

अमेरिका र इरानबीचको तनाव कम पार्न तेहरान जान सक्ने पम्पिओको भनाइ
अमेरिका

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले तेहरान र वाशिङटनबीचको तनाव मत्थर पार्नका लागि आफू इरान जान इच्छुक रहेको बताएका छन् ।

उनले जापान, बेलायत र तथा अन्य मुलुकलाई होर्मुजको जलडमरु हुँदै जाने तेल ट्यांकरहरूको सुरक्षा गर्न संयुक्त जलयातायात बल बनाउन पनि आह्वान गरेका छन् ।

तेहरान जान इच्छुक हुनुहुन्छ भनी ब्लूमबर्ग टीभीमा गरिएको एक अन्तर्वार्ता प्रश्नमा पम्पिओले बिहीवार भने, ‘पक्कै पनि । त्यसको आह्वान भयो भने खुशीसाथ त्यहाँ जान्छु । म इरानी जनतासँग प्रत्यक्ष कुरा गर्ने अवसरलाई स्वागत गर्छु ।’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई इरानी आणविक सम्झौताबाट निकालेपछि इरान र अमेरिकाबीचको तनाव पोहोर सालदेखि चर्किएको छ ।

सम्झौताबाट निस्किएपछि वाशिङटनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएको थियो ।

ट्रम्प र इरानी नेताहरूले सार्वजनिक रूपमा वार्ताहरू सम्भव रहेको बताएका छन् । तर बुधवार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका सैन्य सल्लाहकारले वाशिङटनसँग कुनै पनि परिस्थितिमा सम्झौता नगर्ने भनेपछि वार्ताको सम्भावना टरेर गएको छ ।

विगत तीन महिनामा इरानको तट भएर जाने होर्मुजको जलडमरुमा तेल ट्यांकरहरूमा आक्रमण गरिएपछि दुई देशबीचको सम्बन्ध झनै बिग्रेको छ ।

Post Comment