अमेरिकाको मिसिसिपी राज्यमा बुधवार आप्रवासीहरूमाथि गरिएको ठूलो कारबाहीको क्रममा पक्राउ परेकामध्ये तीन सय जनालाई थुनामुक्त गरिएको अधिकारीहरूले बताएका छन्।
तर अभियानकर्ताहरूले पक्राउ परेका सबैजना थुनामुक्त हुनुपर्ने माग गरेका छन्।
आप्रवासीका बालबच्चाको अवस्थाबारे चिन्ता व्यक्त भइरहेको छ।
मिसिसिपी राज्यका विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगमा कार्यरत सात सय आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा पक्राउ परेका थिए।
त्यो कारबाहीपछि आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको कारबाही भर्त्सना गरे।
तर अधिकारीहरूले बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले गत जुन महिनामा “गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका दशौँ लाख आप्रवासीलाई देश निकाला गरिने” घोषणा गरेका थिए।
तर अहिले मिसिसिपीमा गरिएको कारबाहीको आलोचना भइरहेको छ।
अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)ले त्यो कारबाही अनावश्यक र क्रुर भएको बताएको छ।
त्यस क्रममा खासगरी हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका कामदारहरूलाई विभिन्न उद्योगहरूबाट पक्राउ गरिएको थियो।
उनीहरू सूचीकृत कामदार नभएको आशङ्का गरिएको थियो। अहिले तीमध्ये आधा थुनामुक्त भएको बताइएको छ।
तर विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले पछिल्लो कारबाही कामदारका बालबालिकाहरूका लागि हानिकारक हुन सक्ने भन्दै भर्त्सना गरेका छन्।
आप्रवासी कामदारहरू पक्राउ परेपछि उनीहरूमध्ये धेरैका केटाकेटी आमाबाबुबाट छुट्टिनुपर्ने अवस्थामा पुगेका छन्।