शरणार्थीलाई कडाई गर्ने ट्रम्प योजना लागू गर्न अमेरिकी अदालतको अनुमति

शरणार्थीलाई कडाई गर्ने ट्रम्प योजना लागू गर्न अमेरिकी अदालतको अनुमति
अमेरिका

अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा शरणार्थी दावी गर्नेहरुलाई गम्भीर रुपले कडाई गर्ने ट्रम्प प्रशासनको योजना लागु गर्न अनुमति दिएको छ । ट्रम्प प्रशासनले ल्याएको नयाँ नियमअनुसार अब तेस्रो मुलुकबाट जानेहरुले अमेरिकी सीमामा पुग्नु अगावै त्यहाँ शरणका लागि दावी गरिसक्नु पर्नेछ ।

यद्यपि, ट्रम्प प्रशासनलाई योजना कार्यान्वयन गर्न अनुमति दिने यस आदेशमा उदारवादी मानिएका दुई न्यायाधीशले फरक मत दर्ता गराएका छन् । नौ सदस्यीय इजलाशमा न्यायमूर्ति रुथ बेडर गिन्सबर्ग र सोनिया सोतोमयोरले विमती राखेका हुन् ।

यस नियमविरुद्धको कानुनी लडाईं जारी रहेपनि ट्रम्प प्रशासनले यो योजना देशभर लागू गर्न भने सक्नेछ । यो योजनाले मेक्सिको हुँदै अमेरिका छिर्ने मध्य अमेरिकी मुलुकका नागरिक बढी प्रभावित हुने बताइएको छ ।

ट्रम्प प्रशासनले यो नयाँ नीति जुलाईमा ल्याए पनि सान फ्रान्सिस्कोस्थित एक अदालतले लागू गर्न रोकिदिएको थियो । आप्रवासीमाथि अंकुश लगाउनुपर्ने नीतिका पक्षधर राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो योजना लागू गर्न सके सन् २०२० मा हुने दोस्रो कार्यकालको निर्वाचनमा केही सजिलो हुनसक्ने बताइएको छ ।

ट्रम्प प्रशासनले ल्याएको योजनाको विपक्षमा रहेकाहरु यो अमेरिकी संस्कार संस्कृतिविरुद्धको कदम भएको बताउँछन् । अमेरिकाको दक्षिण–पश्चिम सीमामा लाखौंलाख मानिस शरणका लागि अमेरिका प्रवेश गर्न अनेक जोखिम मोलेर मेक्सिको पुग्ने गरेका छन् ।

Post Comment