संयुक्त राज्य अमेरिकाको एउटा शक्तिशाली संसदीय समितिका अध्यक्षले युक्रेनी समकक्षीसँग राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको टेलिफोन कुराकानीको विषय उनीमाथि महाभियोग लगाउने आधार बन्न सक्ने बताएका छन्।
हाउस अफ रिप्रिजेन्टटिभको गुप्तचरीसम्बन्धी समितिको नेतृत्व गर्ने एडम शिफले सीएनएनसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्।
संसदीय समितिका अध्यक्ष शिफका अनुसार यदि राष्ट्रपति ट्रम्पले विपक्षी नेतामाथि हिलो छ्याप्न कुनै विदेशी नेतालाई दबाव दिने प्रयास गरेका हुन् भने महाभियोग अवश्यभावी हुनेछ।
उनले राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको संवादका विषयवस्तु सार्वजनिक गर्न दबाव दिँदै आएका छन्।
यसअघि ट्रम्पले सो विषयमा आफूविरुद्ध परेको उजुरी राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका थिए।
विवादको कारण
यो वर्षको जुलाई महिनामा राष्ट्रपति ट्रम्पले फोनमा युक्रेनी राष्ट्रपतिलाई डेमक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धाको अग्रपङ्क्ति रहेका जो बाइडनका छोरामाथि पुन: छानबिन गर्न दबाव दिएको समाचारहरूमा जनाइएको थियो।
जो बाइडेन (दाहिने) डेमक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धाको अग्रपङ्ग्रिमा छन्
हन्टर बाइडनले बराक ओबामाको सरकारमा आफ्ना बुवा उपराष्ट्रपति छँदा एउटा ऊर्जा कम्पनीको कामको सिलसिलामा युक्रेनमा केही समय बिताएका थिए।
बुवा बाइडनले छोराको कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका त्यहाँका एक अभियोजनकर्तालाई पदमुक्त नगरे युक्रेनलाई अमेरिकाले दिने सहायता रोक्ने चेतावनी दिएका थिए।
अभियोजनकर्ता भ्रष्टाचारमा संलग्न भएको आशङ्का गरिएको थियो। तर अनुसन्धानले कुनै अनुचित काम भएको प्रमाण फेला पार्न सकेन।
राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षीसँग गरिएको कुराकानीमा जो बाइडनको नाम लिएको स्वीकार गरेका छन्। उनले आफूसँग प्रत्येक काम गर्ने अधिकार रहेको दाबी गरे।
तर ट्रम्पले अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै बाइडनले छानबिनको माग गरेका छन्।
अमेरिकी जनताले आफैँ खुट्याउन सकून् भनेर फोनवार्ताको लिखित बेहोरा तत्काल सार्वजनिक गर्न उनले राष्ट्रपति ट्रम्पलाई आह्वान गरेका छन्।