एजेन्सी, २० चैत । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । अमेरिकामा २४ घन्टामा मात्रै १ हजार ४९ जनाको ज्यान गएको हो ।
योसँगै हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान जानेको संख्या ५ हजार १ सय २ जना पुगेको छ । त्यस्तै, कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २६ हजार ४ सय ४७ जना नयाँ सं’क्रमित थपिएका हुन् । जसमध्ये ८ हजार ८ सय ७८ जना संक्रमित उपचारपछि घर फर्किएका छन् भने ५ हजार ५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हालसम्म कोरोना भाइरसको महामारी विश्वका २०३ देश र दुई अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ ।
विश्वभर ९ लाख २५ हजार १ सय ९७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ४७ हजार १ सय ४९ जनाको ज्यान गइसकेको छ ।