अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो, ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरे

अमेरिकामा बेरोजगारहरुको संख्या झनै बढ्यो, ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरे
अमेरिका समाचार

न्यूयोर्क, १६ जेठ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन् । गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको श्रम विभागले सो जानकारी दिएको हो । अघिल्लो हप्ता अर्थात् गएको मे २३ अघिसम्मको तथ्यांकमा २१ लाख नागरिकले आफूहरु बेरोजगार भएको भन्दै यो फाराम भरेका जनाइएको छ ।

त्यसैगरी त्यो भन्दा पनि अघिल्लो हप्ता अमेरिकाका २४ लाख मानिसले यस्तो बेरोजगारी भत्ताको फाराम भरेकोमा अहिले थप २१ लाखले यो फाराम भरेको यहाँको श्रम विभागले जानकारी दिएको हो । अधिकारीहरुले यसरी अमेरिकाका नागरिकले पहिलो पटक सवैभन्दा धेरैले बेरोजगारी भत्ताका लागि फाराम भरेको देखिएको बताएका छन् । पछिल्लो विवरणमा अहिलेसम्ममा ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।

यो बेरोजगारहरुको बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको यहाँका अर्थ क्षेत्रका अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए ।

कोरोनाभाइरसको संक्रमण फैलिदै गएपछि सामाजिक दुरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले यहाँका ३० करोड भन्दा बढी मानिस घरमै बसेका एक तथ्यांकले देखाएको छ । यहाँ हालै मात्र सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको देखिएको छ ।

बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका प्याकेजहरुको पनि घोषणा गरेको समााचारमा जनाइएको छ ।

०००

अमेरिकामा कार्यालयहरु खुला गर्न नयाँ निर्देशिका जारी

कार्यस्थलमा कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार नयाँ नियमहरु समेटिएको निर्देशिका सार्वजनिक गरेको छ ।

प्रस्तावित निर्देशिकामा कार्यालय पुग्नासाथ कर्मचारीहरुले कोविड–१९ का लक्षणहरु भए नभएको परीक्षण गराउनु पर्ने उल्लेख छ । उनीहरुले कार्यालयमा प्रवेश गर्नुअघि आफ्नो शरीरको तापक्रम जाँच्नु पर्नेछ । दोस्रो, कार्यालयमा कार्यस्थलका डेस्कहरु कम्तीमा ६ फिटको दूरीमा राख्नु पर्नेछ ।

यदि ६ फिटको दूरी कायम गर्न नसकिए आआफ्ना डेस्कहरुको वरिपरि कडा प्लास्टिक ठड्याउनु पर्नेछ ।

तेस्रो, कोरोनाभाइरस संक्रमणबाट बच्न कार्यालयका खुला स्थानहरुमा बस्दा निश्चित दूरी कायम गर्नुपर्नेछ । पटकपटक छुनुपर्ने सामानहरु जस्तै कफीका भाँडा, पानी चिस्याउने उपकरण, साझा खाजाहरु अलग अलग हुनुपर्ने व्यवस्था गर्न निर्देशिकामा भनिएको छ ।

कार्यालयका लिफ्ट चढ्दा आलोपालो गर्ने वा सकभर प्रयोग नगर्नेतर्फ ध्यान दिन सिडिसीले जोड दिएको छ । अमेरिकाका कतिपय राज्यहरुले महिनौंदेखि जारी कडा लकडाउन हटाउनेतर्फ कार्य गरिरहेकै अवस्थामा सिडिसीले नयाँ नियम सार्वजनिक गरेको हो ।

Post Comment