पाल्पाको एकमात्र ससेज उद्योग रामपुरमा

बुधबार , भाद्र १, २०७९
अर्थ​

पाल्पा, १३ पुस । पाल्पाकै एकमात्र ससेज उद्योग रामपुरमा सञ्चालनमा आएको छ ।

दाजुभाइ सप्लायर्स र रम्भा फ्रेस हाउस रामपुरले कालीगण्डकीबेंसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका क्षेत्रलाई लक्ष्यित गरेर ससेज उद्योग स्थापना गरी सञ्चालनमा ल्याएको छ ।नेपाल सरकार कृषि विकास मन्त्रालय व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र विश्व बैंकको सहयोगमा दाजुभाइ सप्लायर्स तथा रम्भा फ्रेस हाउसद्वारा सञ्चालित मासु प्रशोधन तथा बजारीकरण आयोजना पाल्पाकै एकमात्र ससेज उद्योग हो ।

रामपुर क्षेत्रमा स्थापित ससेज उद्योगले पूर्वी पाल्पाको कृषि र पशुपालन क्षेत्रमा उत्पादित वस्तुलाई बजारको समस्या नहुने र उत्पादित वस्तु सहरसम्म सजिलोसँग पुर्‍याउनका लागि ठूलो सघाउ पुग्ने देखिन्छ ।व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को रु २७ लाख आठ हजार ९५० सहयोग र दाजुभाइ सप्लायर्स तथा रम्भा फ्रेस हाउसको रु २९ लाख ९१ हजार ३४० गरी जम्मा रु ५७ लाख २९० को लागतमा ससेज उद्योग सञ्चालनमा आएको हो ।

विसं २०६९ असार ९ गते प्याक्टसँग सप्लायर्स तथा फ्रेस हाउसले सम्झौता गरी २०६९ पुस २२ गते पहिलो, २०७१ असार ३१ गते दोस्रो र २०७१ मङ्सिर १० गते तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ ।

आयोजनाबाट १० जनालाई प्रत्यक्ष रोजगारी र ३०० जनालाई अप्रत्यक्ष रोजगारी मिल्नेछ । २० घरपरिवार व्यावसायिक खसी, बोका, कुखुरापालक कृषक र ३०० घरपरिवार पशुपंक्षीपालक कृषक लाभान्वित हुनेछन् । वार्षिक एक लाख ६५ हजार केजी बोनलेस मासु, ८२ हजार केजी ड्राइमिट र ८६ हजार ३१० केजी ससेज उत्पादन गर्ने लक्ष्य रहेको व्यवस्थापक ऋषि पोखरेलले बताउनुभयो ।

जिल्ला पशु सेवा कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख डा चन्द्रबहादुर रानाले ७० प्रतिशत रोग पशुबाट मानिसमा सर्ने हुँदा उत्पादनलाई शुद्धता कायम गरेरमात्र स्वस्थकर मासु उत्पादन गर्नुपर्ने बताउनुभएको छ । फ्रिजिङ गरेको मासु स्वस्थ हुने हुनाले रामपुरमा सञ्चालनमा आएको ससेज उद्योगको राम्रो सम्भावना देखिएको पनि उहाँले बताउनुभयो ।

खसीबोका एवं कुखुरापालक कृषकलाई प्राविधिक तथा व्यावसायिक पशुपंक्षीपालन तालिम, कर्जा सहायताका लागि पहल, उत्पादित खसीबोका, कुखुरा खरिद गर्ने ग्यारेन्टी, पूर्वाधार क्षेत्रको विस्तार, कृषकका व्यावसायिक योजना तर्जुमामा सहयोग गर्नेजस्ता कार्य आयोजनाबाट सञ्चालन गरिने आयोजनाका अध्यक्ष राजन पोखरेलले बताउनुभयो ।

जीवनस्तर सुधार गर्दै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उपभोक्तामा स्वस्थ, गुणस्तरीय मासुजन्य उत्पादन पुर्‍याउने उद्देश्यले ससेज उद्योग सञ्चालन गरेको व्यवस्थापक भुवन पोखरेलले बताउनुभयो ।

जिल्लाकै एकमात्र मासु प्रशोधन तथा बजारीकरण आयोजना यस ससेज उद्योगले यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । रासस

Post Comment