व्यावसायिक सहकार्यले फेरियो मुक्तकमैयाको जीवन

अर्थ​

भीमदत्तनगर, १४ पुस । आपसी सहकार्य र व्यावसायिक बनेपछि कञ्चनपुरका मुक्तकमैया बस्तीमा सुखको अनुभूति हुन थालेको छ ।

KM-Khotang-Giti Kutai

बस्तीमा भएका मुक्तकमैया सङ्गठित भएर विभिन्न आयआर्जनमूलक व्यवसायमा लागेपछि उनीहरुको जीवनमा सुधार आएको छ । समूहमा आबद्ध भए पछि उनीहरुले विभिन्न सङ्घ संस्थाको सहयोगमा तथा आफ्नै प्रयासमा बङ्गुरपालन, माछापालन, केराखेती, तरकारीखेती जस्ता काम गरी लाखौँका मालिक बन्न सफल भएका हुन् ।

कञ्चनपुरका विभिन्न मुक्तकमैया बस्तीमा गर्न थालिएका आयमूलक कामले उनीहरु आर्थिक अवस्थाले मजबुद बन्नुका साथै सङ्गठितसमेत बनेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका– ७ का मुक्तकमैया समूहमा लाखौँको आम्दानी गर्ने भइसकेका छन् । हलियाबाट विस्थापित हुँदा एक दशकअघि रित्तोहात निस्केका शोभाताल किनाराका मुक्तकमैयासँग अहिले लाखौँ बचत रहेको छ । विभिन्न आयमूलक काम गरेर बचत गर्न थालेपछि लाखौँका मालिक बन्न पाएको उनीहरु बताउँछन् । मुक्तकमैया प्रदीप चौधरीका अनुसार यहाँ बसोवास गर्ने मुक्तकमैयाले विभिन्न आयमूलक काम गरी लाखौँ रुपैयाँ रकम जम्मा गरेका छन् ।

माछापालन, केराखेती जस्ता आयमूलक कार्य मात्र होइन, दैनिक ज्यालादारी गर्न पनि उनीहरुसँग समूह नै छ । ज्यालादारीबाट भने उनीहरुको निजी कमाइ हुने भए पनि काममा पनि समूहमै जाने गरेको मुक्तकमैया रामदास रानाले जानकारी दिनुभयो । बङ्गुरपालनका लागि गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले रु दुई लाख तथा पशुसेवा कार्यालयबाट रु दुई लाख र सहकारी संस्थाको आफ्नै लगानी रु दुई लाख गरी रु छ लाखमा व्यावसायिक रुपमा सुँगुर पालन व्यवसाय सुरु गरिएको संस्थाले जनाएको छ । रासस

Post Comment