काठमाडौँ, १४ पुस । संविधानसभा बैठकमा दुई सातादेखि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि सभासद्ले गरिरहेको छलफलबाट निष्कर्ष निस्कने छाँट देखिएको छैन ।
गत मङ्सिर २९ गतेदेखि जारी सो समितिको प्रतिवेदनमाथिको बहस संविधानका अन्तर्वस्तुमा केन्द्रित नभएकाले पनि यो केवल समयलाई धकेल्नेमा सीमित रहेको स्वयम् सभासद्लाई प्रत्यक्ष महसुुस भएको देखिन्छ । संविधानसभाको आजको बैठकमा मात्र होइन आगामी बैठकमा पनि सोही समितिको प्रतिवेदनबारे छलफल जारी रहनेछ । सभासद्ले प्रतिवेदनलाई पुनः सम्बन्धित समितिमा पठाउने वा नपठाउने भन्ने प्रक्रियागत सवाललाई केन्द्रमा राखेर धारणा राखिरहनुभएको छ ।
यही बीचमा प्रक्रियाबाट निष्कर्षमा पुग्न गतिशील भूमिका प्रदर्शन गर्न सभाध्यक्ष सुवास नेम्वाङलाई दबाब पनि बढ्न थालेको छ । समितिको प्रतिवेदनमाथिको छलफल सकाएर बैठक स्थगन गर्दा पनि सभाध्यक्ष र सभासद्लाई जनताबाट स्याबासी आउने देखिँदैन । सभाध्यक्षको भूमिका देख्न चाहने सभासद्लाई आजको बैठकमा नेम्वाङले आफ्ना बारेमा टिप्पणी नगर्न र परेका बेलामा तटस्थ हुँदै भूमिका देखाउने जनाऊ दिएसँगै पूर्वनिर्धारित समय आगामी माघ ८ मा संविधान ल्याउने विषयमा उहाँ चिन्तित हुनुभएको दर्साउँछ ।
एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराई सभापति रहनुभएको सो समितिमा अन्तर्वस्तुमा दलबीच सहमति हुन नसकेपछि सभापतिको विवेक प्रयोग गरी सभामा प्रतिवेदन पठाउन समझदारी भएको थियो । अन्तर्वस्तुमा सहमति हुन नसकेकाले निर्णयार्थ प्रस्तुत नगर्ने गरी प्रतिवेदन प्रस्तुत भयो । प्रतिवेदनमा नेपाली काँग्रेस र नेकपा (एमाले) सहितले पेस गरेको सात प्रदेशसहितको अवधारणालाई अनुसूचीमा समावेश चाहिँ गरिएको छ ।
अध्यक्ष नेम्वाङ एक्लैले सो समितिको प्रतिवेदन निर्णयार्थ प्रस्तुत गर्न सक्ने स्थिति पनि छैन । प्रतिवेदनमाथिको छलफल समाप्त हुँदा पनि दलहरूमा सहमति नभएका अवस्थामा सभाको नियम, प्रचलन र प्रक्रियाअनुसार कार्य हुने बताएर उहाँले आफ्नो भूमिका बारेमा सचेत रहेको स्पष्ट गर्नुभएको छ ।प्रतिवेदनमाथिको छलफलका आधारमा संविधान बन्दैन भन्ने थाहा पाएर होला आजभोलिका बैठकमा सभासद्को उपस्थिति पातलो हुने गरेको छ । बोल्दा पनि वैचारिक मन्थन र घोचपेच प्रकट भइरहेको छ ।
आजको बैठकमा एमाओवादीका राम कार्कीले विचारवान् नेताको खडेरी परेको सन्दर्भ जोड्ने क्रममा नेपाली काँग्रेसका प्रदीप गिरी हुनुहुन्न कि क्या हो भन्ने अभिव्यक्ति दिएपछि गिरीले नियमापत्ति जनाउँदै भन्नुभयो, “अध्यक्ष महोदय, म जीवितै छु ।”
घाम ताप्ने, चिया खाने र गफ गर्ने नियति
बोल्नका लागि समय माग गरेका सभासद्ले आफ्नो पालो कतिबेला आउँछ भन्ने बुझी त्यही समयमा बोलेर हिँंड्ने गरेको पनि देखियो । बरु बाहिरको घाम ताप्ने, क्यान्टिनमा चिया खाने र गफ गर्ने काममा सभासद् व्यस्त भएको देखियो । संविधान जारी गर्न पूर्व निर्धारित समय (माघ ८) आउन २५ दिन मात्र बाँकी रहँदा सभासद्ले समितिको प्रतिवेदन, २०७१ लाई पुनः सम्बन्धित समितिमा पठाउने वा सभाले निर्णय गर्ने भन्नेमा दोहोरी खेलिरहँदा प्रमुख पार्टीका शीर्ष नेता लगातार जस्तो बैठकमा जुटिरहनुभएको छ ।
आजको बैठकमा पनि सभासद्ले मुख्य पार्टीका शीर्ष नेताले शीघ्र सहमति गर्नुपर्ने अन्यथा सभाले प्रक्रियाबाट निर्णय गर्न पाउनुपर्ने माग गर्दै संविधान दिन नसके आफूहरू नालायक र कलङ्कित साबित हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो । आजको बैठकमा काँग्रेसका अर्जुनप्रसाद जोशी, एमालेका सुरेन्द्रप्रसाद पाण्डे र जुनेद अन्सारी, एमाओवादीका कार्की, राप्रपाका विक्रमबहादुर पाण्डेलगायतले छलफलमा भाग लिनुभएको थियो । सो प्रतिवेदनमाथिको छलफलका लागि संविधानसभाको अर्को बैठक यही पुस १६ गते अपराह्न १ बजे बस्ने तय भएको छ । रासस(प्रकाश सिलवाल)