कोलोराडोमा सामुहिक दरखाने कार्यक्रम भब्यरुपमा सम्पन्न

कोलोराडोमा सामुहिक दरखाने कार्यक्रम भब्यरुपमा सम्पन्न
कोलोराडो समाचार

कोलोराडो, अमेरीका । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दर खाई शुभकामना साटासाट गरेका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई माईतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको हो । कोलोराडो सिष्टर्स ग्रुपकाे आयोजना तथा एनआरएन कोलोराडो च्याप्टरको सहकार्यमा सम्पन्न कार्यक्रम सफलताका साथ सम्पन्न गर्न रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल लगायत बिभिन्न संघ संस्था तथा दाताहरुको सहयोग रहेको सिष्टर ग्रुपकी संयोजक धन पौडेलले बताएकी छन् ।

कार्यक्रममा महिला दिदी बहिनीहरुले घर घरबाट मीठा परिकारहरु बनाएर ल्याई एकै ठाउमा जम्मा भई परंपरागत शैलीमा गीत गाएर नाच्दै सामुहिक दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा बोल्डर, लङमन्ट, ब्रुमफिल, डेनवर्ग, अरोरा, वेस्टमिनिष्टर लगायतका शहरहरुबाट महिला दिदी बहिनिहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए । कोलोराडो स्थित ब्रुमफिल शहरमा सम्पन्न कार्यक्रम सांझ ४ बजे देखी राती ९ बजे सम्म संचालन भएको थियो । धन पौडेलद्धारा संचालित कार्यक्रममा सिष्टर्स ग्रुपको कोषाध्यक्ष तथा एनआएन कोलोराडो च्याप्टरको महिला संयोजक दिलकुमारी श्रेष्ठले स्वागत गरेकी थिईन् ।

त्यसैगरी कार्यक्रममा उपस्थित बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई माईतिको तर्फबाट शुभकामना मन्तब्य दिन आमन्त्रण गरिएको थियो । यसरी शुभकामना मन्तब्य दिनेहरुमा एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, नेपाली घरका अध्यक्ष लछुमन राना, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका महिला कोर्डिनेटर यशोदा भट्ट लगायत रहेका थिए ।

कार्यक्रममा बाल बालिका देखि बृद्ध बृद्धा सबै उमेरका दिदी बहिनि तथा दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । दिदी बहिनीहरुले परंपरागत भाका र शैलीमा गीत गाउदै मादलको तालमा छम छम नाचिरहदा आफुलाई नेपाली भुमीमा बसेर तिजको रमाईलो हेरिरहेको महसुस हुन्थ्यो । परंपरागत रुपमा दर खाने परिकारहरु खीर, सेलरोटी, दही, कांक्रोको अचार जस्ता स्वादिष्ट परिकारहरु खादै साथीहरु संग नाच्दै, गाउदै, तिजको शुभकामना साटासाट गर्दै उनीहरुले तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका थिए ।

आयोजक संस्थाका संयोजक धन पौडेलले कार्यक्रममा उपस्थित भई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन् ।