साँखुको इतिहास

साँखुको इतिहास
मनोरन्जन

काठमाडौँ, १८ जेठ । नेपालका महत्वपूर्ण प्राचीन सम्पदाको सम्बद्र्धन गर्दै यसको गरिमा उजागर गर्ने हेतुले नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले ‘साँखुः हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’(साँखुः ऐतिहासिक तथा सांस्कृतिक सम्पदा) नामक अङ्ग्रेजी भाषाको पुस्तक प्रकाशनमा ल्याएको छ ।

प्रा डा डिल्लीराज शर्मा र प्रा डा टेकबहादुर श्रेष्ठ लेखक रहेको ५६५ पृष्ठको उक्त पुस्तकमा काठमाडाँैबाट १८ किमी पूर्व रहेको साँखुको इतिवृत्त समेटिएको छ । हाम्रा विलुप्त हुन थालेका सम्पदाका बारेमा तयार भएको उक्त पुस्तक आठ भागमा विभाजित छ ।

साँखु क्षेत्रको बसोबास, वज्रयोगिनीको ऐतिहासिक र धार्मिक महत्व, त्यस वरिपरि छरिएका कला र वास्तुकलाको रचना तथा साँखुमा मनाइने चाडपर्व र जात्राको विस्तृत अध्ययन समावेश गरिएको छ । साँखुको ऐतिहासिकतालाई केलाउने क्रममा तेस्रो शताब्दीसम्मको प्रमाणित विवरण पुस्तकमा परेको छ । आजसम्म अप्रकाशित मूर्तिकलाका रचना र वास्तुकलाका व्याख्या पनि रहेकाले पुस्तक गहकिलो बनेको छ ।

पुस्तकमा लेखकद्वयले साँखुवासीले आफ्नो महत्वलाई सजिलैसँग बुझ्ने बाटो खुला गरिदिएको देखिन्छ । यसै आधारबाट पनि आफ्ना सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने नयाँ सूचना नेपालीलाई दिइएको छ ।

जनस्तरका साथै सरकारीतर्फबाट पनि यस्ता महत्वपूर्ण धरोहरका रुपमा रहेका सम्पदाको समयमै जगेर्ना हुन सके नेपालको सांस्कृतिक वैभवतालाई अक्षुण्ण राख्न सकिन्छ भन्ने लेखकद्वयले भनाइ छ । अङ्ग्रेजी भाषामा लेखिएको हुनाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको सांस्कृतिक महत्वलाई प्रचारप्रसार गरी सम्पदा पर्यटनको विकासका लागि थप प्रेरणा दिने विश्वास गरिएको छ ।

उक्त पुस्तकको लोकार्पण गर्दै त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले बौद्धिक अनुसन्धानलाई निरन्तरता दिनु भनेको राष्ट्रको एकीकृत स्वरुपलाई अझ बलियो बनाउनु हो भन्नुभयो ।

लेखकद्वय शर्मा र श्रेष्ठले मुलुकको अमूल्य निधिका रुपमा रहेका प्राचीन सम्पदाको खोज र अनुसन्धानमा विश्वविद्यालयले थप कार्ययोजना बनाएर अघि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो ।