चौथो आएनएस अवार्ड सिक्किममा सम्पन्न: चलचित्र क्लासिकले मार्यो बाजी

मनोरन्जन

सिक्किम, नोवेम्बर १२, २०१६। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (INAS) ले सिक्किमको राजधानी गान्तोकमा चौथो चलचित्र अवार्ड भव्यताका साथ सम्पन्न गरेको छ ।

गत बुधवार राती गरिएको कार्यक्रममा चलचित्र ‘क्लासिक’ ले बिभिन्न पाँच विधास् उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, उत्कृष्ट गीतकार र उत्कृष्ट गायनमा अवार्ड प्राप्त गरेको छ। जस अनुसार क्रमश नायक आर्यन सिग्देल, नायिका नम्रता श्रेष्ठ, सम्पादक सुरेन्द पौडेल, गीतकार डा. कृष्णहरि बराल र गायक युवराज चौलागार्इंले अवार्ड हात पारेका छन् र निर्देशक दिनेश राउतले क्लासिकबाट जुरी अवार्ड जितेका छन्।

त्यसैगरी चलचित्र ‘पशुपति प्रसाद’ बाट उत्कृष्ट फिल्म निर्देशनमा दीपेन्द्र के खनाल, पटकथा लेखनमा खगेन्द्र लामिछाने र खलनायकमा विपीन कार्कीले अवार्ड प्राप्त गरेका छन् र चलचित्रका बिभिन्न १९ विधा सहित पपुलर र जुरी अवार्ड वितरण गरिएको उक्त समारोहमा नव-नायक तथा नव-नायिकातर्फ क्रमश ‘होस्टेल रिटर्नस्’ बाट सुशील सिटौला र साम्राज्ञी राज्यलक्ष्मी शाहले अवार्ड पाए भने सहनायक र सहनायिकाको अवार्ड होस्टेल रिटर्नसुबाट नाजिर हुसेन र ‘सुन्तली’ बाट सूर्यमाला खनालले प्राप्त गरे ।

त्यसैगरी गीततर्फ ‘वडा नम्बर ६’ को ‘सुर्केथैली खै’ ले प्राप्त गर्यो भने सोही गीतबाट संगीतकार राजनराज सिवाकोटीले पपुलर अवार्ड पाए । उत्कृष्ट संगीतकारको अवार्ड प्रेमगीत चलचित्रका लागि अर्जुन पोखरेलले प्राप्त गरे।

यसपटक Lifetime Achievement Award बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित कलाकार डेनी डेङ्जोङ्पालाई प्रदान गरियो भने INAS द्वारा पहिलोचोटि प्रदान गरिएको ‘विश्व व्यक्तित्व’ सम्मानबाट सिक्किमका मुख्यमन्त्री एवं साहित्यकार डा. पवन चाम्लिङलाई सम्मानित गरियो ।

विश्वव्यापी रुपमा पहिलोचोटि सिक्किममा भएको यो अवार्ड कार्यक्रममा चलचित्रकर्मीहरू तुलसी घिमिरे, टीका पहारी, रमेश बुढाथोकी, नीर शाह, राजेश हमाल, करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, मनीषा कोइराला, निरुता सिंह सहित रञ्जित गजमेर, विनोद प्रधान, सनी रौनियार आदिको सहभागिता रहेको थियो ।  कार्यक्रममा मनिषा कोइराला, विनोद प्रधान, रञ्जित गजमेर, उगेन छोपेल, करिश्मा मानन्धर र राजेश हमाललाई बिशेष सम्मान गरिएको थियो भने कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई अभूतपूर्व सामाजिक कार्यका लागि विशेष सम्मान गरिएको थियो ।

नेपाली भाषा साहित्य, कला संस्कृति र चलचित्र क्षेत्रको उर्वर भूमि मानिने सिक्किममा यस्तो कार्यक्रम गरेकोमा चाम्लिङले समारोहमा सबैलाई धन्यवाद दिंदै सिक्किममा आएर फिल्म निर्माण गर्न नेपाली फिल्मकर्मीलाई अनुरोध गर्नुका साथै यसरि निर्माण हुने चलचित्रको आधा खर्च सिक्किमबाटै उठाइदिने व्यवस्था मिलाउने वचन समेत दिनुभयो ।

nepali-award-in-sikkma

nepali-award-in-sikkma2

Post Comment