श्रीदेवी भारतीय सुपरस्टार : एक करोड पारिश्रमिक पाउने पहिलो अभिनेत्री

श्रीदेवी भारतीय सुपरस्टार : एक करोड पारिश्रमिक पाउने पहिलो अभिनेत्री
मनोरन्जन

अगस्ट १३ सन् १९६३ माम द्रास शहरमा जन्मेकी श्रीदेवीको वास्तविक नाम श्री अम्मा अयंगर अयाप्पन हो । तर उनी श्रीदेवीको नामबाट चर्चित  हुन पुगिन् । श्रीदेवीका बुवा तमिल थिए भने आमा तेलुगु । उनका बुवा वकिल थिए ।

श्रीदेवीले ४ वर्षको उमेरमा अभिनय गर्न थालेकी थिइन् । ४ वर्षको उमेरमा तमिल सिनेमा ‘थुनइवन’बाट उनको अभिनयको सुरुवात भएको थियो ।

एकताका उनले तमिल र तेलेगु सिनेमामा बाल कलाकार भएर राज गरिन् भने पछि मुख्य अभिनेत्रीको रुपमा पनि काम गरिन् र सफल अभिनेत्रीको  सूचिमा आफ्नो नामदर्ता गराइन् । उनले १३ वर्षको उमेरमा अभिनेता रजनीकान्तको सौतेनी आमा भएर काम गरेकी थिइन् । यो तमिल सिनेमामा उनको लिड अभिनेत्रीको रुपमा पहिलो सिनेमा थियो ।

बलिउडमा पनि उनले बाल कलाकारको रुपमा सन् १९७५ को सिनेमा ‘जुली’मा काम गरेकी थिइन् । मुख्य अभिनेत्रीको रुपमा भने उनको सिने यात्रा सन्  १९७९ मासिनेमा ‘सोलवा सावन’मार्फत भएको थियो । पहिलो सिनेमाले उनलाई खासै फाइदा पुर्याएन । तर सन् १९८३ मा सिनेमा हिम्मतवालामा काम गरेपछि भने उनलाई बलिउड करिअरलाई पछि फर्केर हेर्नै परेन ।

श्रीदेवीले आफ्नो सिने करिअरमा दर्जनौँ सिनेमाहरु छोडेकी छिन् जसले उनलाई सदैव जीवित राख्नेछ । उनको सिने करिअरमा मवाली १९८३, तोहफा १९८४, मक्सद १९८४, मास्टरजी १९८५, नजराना १९८७ मिस्टर इण्डिया १९८७ वक्तकि आवाज १९८८,  चाँदनी १९८९, सदमा १९८३, नागिन १९८६, चालबाज १९८९, लम्हे १९९१, खुदागवाह १९९२, गुमराह १९९४, जुदाइ १९९७ जस्ता सिनेमाहरु कारोबारमा सफल रहे र उनलाई पनि सफलताको उचाइमा पुर्याए ।

एक पछि अर्को सफल सिनेमा दिएपछि उनलाई बलिउडमा सुपरस्टारको दर्जा दिइयो । श्रीदेवीले सदमा,  चाँदनी, गर्जना,  क्षण क्षणम जस्ता सिनेमाका लागि गीत पनि गाएकी छिन् ।

१९९६ मा विवाह गरेपछि श्रीदेवीको सिने करिअर १५ वर्षका लागि रोकियो । सिनेमाबाट ब्रेक लिएको १५ वर्षपछि उनले सन् २०१२ मासिनेमा ‘इंग्लिस भिंग्लििस’ बाट कमब्याक गरिन् । तर उनको कमब्याक कारोबारमा हिसाबले भने त्यति प्रभावकारी बन्न सकेन । तर उनको काम र सिनेमाले भने सकारात्मक प्रतिक्रिया बटुलेको थियो । ५० वर्ष लामो सिने यात्रामा उनको  अन्तिम सिनेमा सन् २०१५ को ‘मम’ बनेको छ । यो उनको ३ सय औँ सिनेमा हो । ३ सय वटा  सिनेमामा काम गरिसकेकी श्रीदेवीले ५ पटक आइफा अवार्ड  पाएकी छिन् भने १० पटक उनी यो अवार्डको लागि नोमिनेशनमा परेकी छिन् । गतवर्ष मात्रै उनलाई भारत सरकारले पद्मश्री अवार्डबाट  सम्मानित गरेको थियो ।

एक करोड पारिश्रमिक पाउने पहिलो अभिनेत्री

बलिउडमा अहिले पनि नायिकाको पारिश्रमिक नायकको तुलनामा निकै कम हुने गर्छ । तर ८० र ९० को दशकमा भने निर्माताहरुले श्रीदेवीलाई नै सिनेमा चलाउने फर्मुला मान्थे । दर्शकले सिनेमामा श्रीदेवीलाई मात्र हेर्न चाहने भएकै कारण निर्माताहरु अभिनेताको भन्दा  धेरै पारिश्रमिक दिन पनि तयार हुन्थे ।यसकारण उनी बलिउडमा सबैभन्दा पहिले एक करोड पारिश्रमिक पाउने अभिनेत्री बनेकी थिइन्  ।

आफ्नो चुलबुले अभिनयमार्फत करोडौं दर्शकको मन जित्न सफल रहेकी अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुबईमा निधन भएको हो । उनी एउटा वैवाहिक समारोहमा सहभागी हुन दुबई गएकी थिइन् । श्रीदेवी आफ्नी छोरी जान्ह्वी कपूरलाई पर्दामा उतार्नका लागि आफै निकै खटिरहेकी थिइन् तर उनले छोरीलाई पर्दामा उत्रेको देख्न पाइनन् ।

Post Comment