अमेरिकाको ओहोयास्थिति एक्रोनमा भइरहेको ‘मेरो डान्स कप यूएस २०१८’ र ‘मेरो भ्वाइस कप २०१८’ अन्तिम चरणमा पुगेको छ । भोलि ४ अगष्टमा दुवै प्रतियोगिताको ग्रान्ड फिनाले आयोजना हुनेछन् ।
यी दुवै प्रतियोगितामा अमेरिकामा बस्दै आएका नेपाली युवा-युवतीहरुले भाग लिएका छन् । ‘मेरो डान्स कप’ को यो चौंथो सिजन हो भने ‘मेरो भ्वाइस कप’ को पहिलो सिजन हो । यी दुवै प्रतियोगिता गत मार्चमा सुरु भएका थिए । मेरो भ्वाइस कपमा ७० जनाले प्रतिस्पर्धा गरेकोमा विभिन्न चरणमा छनोट हुँदै अहिले टप ४ बीच अन्तिम प्रतिस्पर्धा हुँदैछ ।
आयोजकका अनुसार एउटै टिकटबाट दुवै प्रतियोगिताको फाइनल हेर्न पाइन्छ । भीआईपी टिकटको मूल्य ५० डलर र सामान्य टिकटको मूल्य ३० डलर तोकिएको छ । प्रतियोगिताका विजेताले १० हजार डलर पाउनेछन् ।
यस्तै अमेरिकामा छोटो समयमा चर्चित बनेको ‘मेरो डान्स कप’ को ग्रान्ड फिनालेमा पनि ४ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता २०१६ देखि लगातार आयोजना भइरहेको छ । सन् २०१६ को प्रतियोगितामा जर्जिया एटलान्टामा बस्ने पूर्णी गुरुङ प्रथम भएकी थिइन् भने २०१७ मा नर्थ डकोटामा बस्ने मनिता सिंजालीले उपाधि जितेकी थिइन् ।
यी दुवै प्रतियोगिता अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरुले आफ्नो भाषा तथा संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेका हुन् । इन्ट्रा नेसनल होम केयर (एलएलसी) का सीईओ डिल्ली अधिकारीले कार्यक्रमको मूख्य प्रायोजन गरेका छन् ।
मेरो भ्वाइस कपको ग्रान्ड फिनालेका लागि रामकृष्ण ढकाल, रिमा गुरुङ हाडा, रिमा विश्वकर्मा तथा मेरो डान्स कपको ग्रान्ड फिनालेमा राजेश हमाल दिलिप रायमाझी, केकी अधिकारी, नन्दिता केसी लगायतको सहभागीता रहनेछ ।