विविधतामा काम गर्नु एक अभिनेताको लागि कति अर्थपूर्ण हुन्छ ? उसको भौतिक आकारले एक्टिङमा कति अर्थ राख्छ ? योङ हार्टथ्रोव प्रदीप खड्कासँग आइतबार यी प्रश्नका जवाफ थिए ।
झरी परेको साँझ उनी नक्सालस्थित बज् क्याफेको कटेजमा अनलाइन मिडियासँग गफिँदै थिए । भदौ २२ गते रिलिज हुने आफू अभिनित क्राइम थ्रीलर रोजीको प्रेसमिट भेटघाट छेको थियो ।
‘स्क्रिप्ट र पात्रको सशक्तताले फिल्मप्रति निकै आशावादी छु’ उनी सुनिए, ‘पहिलोपटक थ्रीलर फिल्म गर्दैछु । मेरो लागि यो अलग जनरा हो । दर्शकले मभित्र भिन्न स्वाद प्राप्त गर्नुहुनेछ ।’
उनलाई एउटा प्रश्न सोधियो । हिरोइन अग्ली र तपाईंँ होचो, किन ? प्रदीप ठट्यौली सुनिए, ‘मैले उचाइ बढाउन सबथोक गरेँ । के मात्र गरिन ?’ यसको उत्तर उनको दायाँ छेउमा बसेका दुई डिभासँग थियो ।
को–स्टार मिरुना मगरले भनिदिइन, ‘मलाई त्यस्तो लाग्दैन । अभिनय एउटा कला हो र फिजिकल स्वरुपले खास अर्थ राख्दैन ।’ मोडल टन्र्ड एक्ट्रेस परमिता राणासँग त उत्तर भै हाल्ने भयो । भनिदिइन्, ‘मोडलिङ भए हाइटले पनि अर्थ राख्थ्यो तर, एक्टिङमा आवश्यक छैन । तपाईं हेर्नूस न इन्डियामा आमिर खान र कट्रिना क्याफको जोडी ।’
निर्देशक नीरक पौडेलले आफूले रोजीमार्फत दर्शकलाई न्याय गर्ने बताए । ‘मैले दर्शकलाई फिल्ममा न्याय गर्छु र निराश तुल्याउँदिन’ पौडेल सुनिए । यसअघि रिलिज भएका कुसुमे रुमाल २ र होमवर्कलाई दर्शक र समिक्षक दुबैले हरियो झन्डा देखाएका थिए ।
संगीतकार एलिस कार्कीले फूल हैन…गीतले सफलता प्राप्त गरेको बताए । ‘म्युजिकल्ली कन्टेस्टमा सयौं सहभागि हुँदैछन् । इन्टरनेटमा समेत यसले राम्रो भ्यूअर्ज प्राप्त गरेको छ’ पाश्र्वध्वनी डिजाइनर समेत रहेका कार्कीले भने, ‘फूल हैन गीत हाम्रा लागि पब्लिसिटीको बलियो माध्यम पनि हो ।’
गायक प्रताप दास र गायिका प्रविशा अधिकारीले फूल हैन गीतको सफलता र आफ्नो अनुभवमाथि प्रकाश पारे । नेपाल आइडल फेम्ड गायक दासले गीतमा अधिकारीसँग टीमअप गरेका छन् ।
गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म भदौ २२ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपाल र टर्कीमा छायांकन गरिएको फिल्म प्रदीप खड्काको स्टारडमले पनि अवेइटड छ ।