अमेरिकामा मनाइयो तीज पर्व

अमेरिकामा मनाइयो तीज पर्व
मनोरन्जन

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा तीज कार्यक्रम भएको छ ।

दुई दिनदेखिको लगातार वर्षा, तर पनि अमेरिकामा रहेका दिदीबहिनीको मुहारमा हर्ष छाएको थियो । वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठूलो सभा हल खचाखच भरिएको थियो । त्यहाँको वातावरण देख्दा लाग्थ्यो, हामी नेपाल मै छौँ । तीज महोत्सव अमेरिका २०१८ जहाँ निःशुल्क प्रवेश, तीजको दर, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने व्यवस्था, साथमा तीजको किनमेल स्टलहरू पनि समावेश थिए । सेप्टेम्बर ९ तारिख आइतबार बिहान १२ बजे देखी सुरु भएको तीज महोत्सव बेलुकी ६ बजे सम्म लगातार चलिरह्यो ।

अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले तीज पर्व सँग जोडिएका शिव पार्वतीको तस्बिर अगाडि पानसमा बत्ती बालेर तीज महोत्सव उद्घाटन गरे । अनि सुरु भए तीजका गीतहरू र नाचहरूका वर्षा । दुई वा दुईभन्दा बढीको सामूहिक गीत र नाच होस वा पुरै हल जुरुक्क उठेर नाच्दा नेपालको तीज र वातावरण झलझल याद आउँथ्यो । नेपाली लोक संस्कृति अमेरिकामा पनि छाएको महसुस हुन्थ्यो ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले तीजका गीत र नाच आजकल रत्यौली बन्दै गइरहेकोबताए । उनले तीज गीतमा बढी छाडा र विकृतिपूर्ण बन्दै जानु दुखद् भएको बताए ।

अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्ती मगरले तीज पर्व र यससँग जोडिएका तथ्यहरूका बारेमा प्रकाश पार्दै तीजको एतिहासिक महत्त्व रहेको बताए ।

नेपाली संघ संस्था र महिलाहरूको प्रतिनिधित्व गर्दै अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजा र अमेरिकी महिलाहरूको प्रतिनिधित्व गर्दै डा. जुडी फ्रेडिकसन सुवेदीले तीज महोत्सवको सफलताका लागि शुभकामना दिइन् । अनेसास डिसीका उपाध्यक्षद्वय अरुण रुपाखेती र रजनी श्रेष्ठले धन्यवाद ज्ञापन र स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तीमगर, उपाध्यक्ष बिमला निरौला, सुष्मा खनाल, बिना घर्तीमगर, रोजा वलीले सँचालन गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष पुस्कर पन्त, आर्थिक उपसमिति संयोजक खगेन्द्र थापा र स्वयंसेबक संयोजक मुकुन्द कोइरालाले आफ्नो जिम्मेवारी अन्तरगतका विवरण पेश गरेका थिए ।

Post Comment