यतिबेला धेरैको कौतूहल भोलि चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदार बनेर प्रतिस्पर्धा गर्दैछिन्।
प्रतियोगिताको नतिजा शनिवार सार्वजनिक हुनेछ। तर त्यसअघि नै धेरै नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रूपमा लिएका छन्।
विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मवल उच्च राख्न सुझाव दिएका छन्।
ट्विटरमा सुशील रानाभाटले लेखेका छन्, “यसले केही फरक पार्दैन कि शृङ्खलाले उपाधि जितून् वा नजितून्। उनले लाखौँ नेपालीहरूको मन जितिसकेकी छन् र नेपाललाई विश्वसामु चिनाइसकेकी छन्। उनी अहिल्यै मिस वर्ल्ड भइसकेकी छन्। र, पनि शुभकामना।”
सम्झना घिमिरेले भनिन्, ”अगाडि बढ शृङ्खला र उपाधि लिएर नेपाल आऊ।”
विश्वास
प्रतियोगिताको पूर्वसन्ध्यामा धेरै नेपालीले उनले पहिलो नेपालीका रूपमा ‘विश्व सुन्दरी’ को उपाधि पाऊन् भन्दै शुभकामना दिइरहेका छन्।
त्यस्तो शुभकामना दिनेहरू उनलाई ‘आत्मविश्वास’ उच्च राख्न सुझाव दिन्छन्।
विवेकले ट्विटरमा लेखेका छन्, “धेरै आशा छैन। तर हामी तिमी माथि विश्वास गर्छौँ।”
प्रतियोगिताको एउटा उपाधि ‘ब्युटी विथ पर्पोज’ जितेपछि शृङ्खलाको चर्चा झन् चुलियो।
त्यसयता लगातार सामाजिक सञ्जालमा थप चर्चामा आएकी उनले मतको आधारमा पाउने अर्को उपाधि ‘मल्टिमिडिया अवार्ड जितिन् र प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरिन्।
शृङ्खलाको चर्चा चुलिनुको एउटा कारण आत्मविश्वासले भरिपूर्ण उनको हँसिलो मुहार भएको कतिपयले प्रतिक्रिया दिएका छन्।
सुझाव
उनलाई शुभकामना मात्र होइन प्रतिस्पर्धाको सामना गर्न कतिपयले सल्लाह पनि उत्तिकै दिएका छन्।
सुदीप घिमिरे भन्छन्, “बलियो तर्क दिनूस् र त्यसलाई गतिलो उदाहरणसहित प्रमाणित गर्नुस्। जनता तपाईँको बहस सुन्न चाहन्छन्, तर लामो व्याख्या होइन। तर्कले तपाईँलाई मिस वर्ल्ड बन्न सघाउनेछ।”
शृङ्खलाको भावी यात्राको लागि समेत कतिपयको सुझाव छ
हंश जोशीले लेखेका छन्, “जसरी अहिले तपाईँलाई जिताउन सारा जनता लागिपरेका छन्, त्यसरी नै भोलिका दिनमा नेपाल र नेपालीसँगै रहेर काम गर्नु। सफलतापछि आफू मात्र बन्ने प्रवृत्तिको अन्त्य गर्नू। अग्रिम शुभकामना।”
शृङ्खलाको हौसला बढाउन उनका आमा र बुबा पनि चीन पुगिसकेका छन्।
शनिवार प्रतियोगिताको अन्तिम दिन हो।
भारतकी वर्तमान विश्व सुन्दरी मानुषी छिल्लरले शृङ्खलाको शिरमा नयाँ विश्व सुन्दरीको मुकुट लगाइदिएको हेर्ने आशा नेपाली समर्थकको छ।