तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । तर, एक वर्षपछि नाना पाटेकरलाई राहत मिलेको छ ।
लामो अनुसन्धानपछि पुलिसले यो मुद्दा बन्द गर्ने निर्णय गरेको छ । अनुसन्धानपछि तनुश्री दत्ताले लगाएको आरोपलाई आधारहीन बताइएको छ । प्रहरी अधिकारीले आरोप पुष्टि हुने कुनै प्रमाण नभेटिएको जनाएका छन् । तर, तनुश्रीका वकिलले कुनै हालतमा हार नमान्ने र न्यायका लागि फेरि अपिल गर्ने बताएका छन् ।
तनुश्रीले अन्तर्वार्ताका क्रममा आफूले बलिउडमा आउँदा कैयौँ दुःख झेलेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले यी सब भुल्न कोसिस गरेँ, तर सकिनँ । मलाई लाग्यो कि उसको हिम्मत कसरी भयो कि मेरो साथमा यी सबै गर्नका लागि । ऊ कसरी सुरक्षित हुन्छ र मान्छेहरू ऊसँग लगातार कसरी काम गर्छन्, छक्क छु ।’ उनले फिल्म ‘हर्न ओके प्लिज’ फिल्ममा नाना पाटेकरले आफूलाई यौन शोषण गरेको बताएकी थिइन् । उनको भनाइले बलिउडमा तरंग ल्याएको थियो ।