चितवनको सौराहामा ११ औँ चितवन हात्ती महोत्सव यही पुस ११ देखि १५ गतेसम्म हुने भएको छ ।
क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा रत्ननगर नगरपालिका, मृगकुन्ज उपभोक्ता समिति, बाघमारा मध्यवर्ती सामुदायिक वन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, सौराहा पर्यटन व्यवसाय समूहको सहआयोजनामा हुने सो महोत्सवमा विदेशबाट पनि विशिष्ट अतिथि सहभागी हुने बताइएको छ ।
महोत्सवमा हात्ती दौडका साथै छावाको फुटबल, गाडा दौड, टाँगा दौड, डुङ्गा दौड आदि हुनेछन् । बीस हात्तीबीच प्रतिस्पर्धा हुने छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक केशव पाण्डेले हात्ती संरक्षण र जनचेतना वृद्धिका लागि महोत्सव आयोजना गरिने बताउनुभयो । रासस