राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको भ्रातृ सङ्गठन राष्ट्रिय खेलकुद सङ्घ नेपालले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक खेलाडीको चयन गरी ‘पृथ्वी पुरस्कार’बाट सम्मान गर्ने घोषणा गरेको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका खेलकुद विभाग प्रमुख एवम् सभासद गणेश थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीको चयन गरी सम्मान गरिने बताउनुभयो । उक्त पुरस्कारको राशि रु दुई लाख रहनेछ ।उहाँले यस पटक विभिन्न व्यक्तित्वबाट सहयोग गरेर सम्मान गरिने र अर्को वर्षदेखि सङ्घमा नै अक्षय कोष खडा गरेर सम्मान गर्दै जाने उल्लेख गर्नुभयो ।
सभासद थापाले सङ्घमा राजनीतिकरण नभई विशुद्ध खेल र खेलकुदको विकासका लागि मात्र काम गर्ने बताउनुभयो ।सङ्घका अध्यक्ष लोकबहादुर शाहीले पृथ्वी पुरस्कार यही पुस २६ गते प्रदान गरिने र आगामी वैशाख १ गते नयाँ वर्ष शुभकामना खेलकुद महोत्सव आयोजना गरिने बताउनुभयो । रासस