पोखरा, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष एवम् मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले ६४औं मदन जयन्तीका अवसरमा पोखरा रङ्गशालामा आयोजित १० किमी खुला दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो ।
एकेडेमी कास्कीद्वारा आयोजित सो प्रतियोगितामा सिद्धिबक्स गुल्म जुम्लाका छत्र दाहाल प्रथम तथा राजदल गुल्म खैरेनीटारका धन्तराज थारु र विष्णु तामाङ द्वितीय र तृतीय भई रु १५ हजारसहित स्वर्ण तथा रु १० हजारसहित रजत र रु सात हजार नगदसहित कास्यपदक प्राप्त गरेका थिए । दौडमा ३६६ धावकको सहभागिता थियो ।
प्रतिया्ेगिताको छात्र पाँच किमी दौडमा सरस्वती उमावि भक्तपुरका हरेराम नेपाल प्रथम, अमरसिंह नमुना उमाविका सूर्य भण्डारी द्वितीय तथा उमाविका अविजित परियार तृतीय भएका थिए ।
छात्रातर्फको सोही इभेन्टमा एकता मावि पस्र्याङका सुमित्रा श्रेष्ठ (कुजु), सोही माविका सजिना तामाङ र लक्ष्मीआदर्श उमावि लेखनाथका सविना बन्जरा क्रमशः प्रथम, द्वितीय र तृतीय भई रु १० हजार, रु सात हजार र रु पाँच हजार प्राप्त गरेका थिए ।
त्यस्तै आठ सय मि ह्विलचेयर दौडमा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय तथा धु्रव परियार तृतीय भए । ह्विलचेयरमा प्रथम हुनेले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार प्राप्त गरे । सो प्रतियोगितामा सात जनाको सहभागिता थियो ।
विजेता तथा उपविजेतालाई अध्यक्ष ओली, राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष सोमनाथ प्यासी, एकेडेमीका उपाध्यक्ष मोहन रेग्मी, केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक राजेशकुमार गुरुङ, केन्द्रीय सदस्य खड्गबहादुर रानाभाट, एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य जगत विक, केन्द्रीय सदस्य मायानाथ अधिकारी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर वैरागी, निवर्तमान अध्यक्ष मानबहादुर जिसी, सशस्त्र प्रहरी बलका जानकी भट्टराईलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
सो अवसरमा निर्धारित पाँच किमी दौड पूरा गर्ने सहिद स्मृति आवासीय विद्यालयका आठ वर्षीय जयराम घर्ती, १० वर्षीय प्रवीण दर्जी, १० वर्षीया माधुरी चौधरी, नौ वर्षीया सिर्जना रेग्मी तथा सुमित्रा परियारलाई एमाले केन्द्रीय सचिवलायका तर्फबाट प्रोत्साहनस्वरुप जनही रु दुई हजार पुरस्कार प्रदान गरिएको थियो । रासस