आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगत रोमाञ्चक खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ ।
केन्याले नेपालसामु १ सय ७८ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले अन्तिम ओभरको अन्तिम बलमा सफलता पूर्वक पछ्याएको हो ।
कुनै समय पाँच विकेटको क्षतिमा १६९ रनको अवस्थामा रहेको नेपालले दुई विकेट गुमाउँदै ४९.४ ओभरमा सात विकेटको क्षतिमा १७६ रनको स्थितिमा पुगेको थियो ।
नेपालले क्रमशः ४२ र ४७ रन बनाएर सेट रहेका आरिफ शेख र रोहित कुमारलाई गुमाएपछि दबाबमा परेको थियो । तर, अन्तिमबलमा सोमपाल कामीले २ रन हिर्काउँदै टोलीलाई महत्वपूर्ण जीत दिलाए ।
यसअघि, १४ रनको स्थितिमा तीन विकेट गुमाएको स्थितिबाट उकास्न कप्तान पारस खड्काले ४२ रनको योगदान दिएका थिए । उनले १९ रन बनाएका शरद भेष्वाकारसँग राम्रो साझेदारी गरे । पारस र
शरदलाई गुमाउँदा नेपालले ५ विकेटमा ८२ रन मात्र बनाएको थियो । तर, त्यसपछि आरिफ र राहितले ८७ रनको साझेदारी गर्दै नेपालको जीतको आधार तय गरे ।
केन्याका इमानुएल बुन्डीले ३ विकेट लिँदै नेपालको ब्याटिङ धरासायी बनाउने प्रयास गरेका थिए ।
खेलमा नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको थियो ।
तर, नेपालको अपेक्षाविपरित केन्याले उत्कृष्ट शुरुवात गर्यो । पहिलो विकेटको लागि केन्याले ६५ रनको साझेदारी गर्यो ।
ओपनर इरफान करिम र एलेक्स ओबान्डाले क्रमशः ४२ र ४१ रन बनाए । कुनै समय केन्याले २ सय रनभन्दा माथिको स्कोर बनाउने देखिएको थियो ।
तर, त्यसपछि भने नेपाली बलरहरुले केन्यालाई खुलेर खेल्न दिएनन् । युवा सेन्सेसन सन्दीप लामिछानेले ५ विकेट लिँदै केन्याको रनमा ब्रेक लगाए ।
१० ओभर बलिङ गर्दै प्लेयर अफ द म्याच घोषित सन्दीपले ५ मेडेन राख्दै मात्र २० रन खर्चेर ५ विकेट लिए । लिस्ट ए खेलहरुमा नेपालका कुनै पनि बलरले गरेको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।
त्यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेष्वाकरले १–१ विकेट लिए ।
केन्याका लागि अन्त्यतिर सेम एनगोचेले १५ बलमा २३ रन बनाउँदै विस्फोटक ब्याटिङ गरे ।
त्यस्तै नेल्सन ओधियाम्बोले नट आउट रहँदै २४ रन बनाए ।
केन्याले निर्धा्रित ५० ओभरमा आठ विकेटको क्षतिमा १७७ रन बनायो
लिगमा नेपालले हालसम्म ३ खेलमा जीत तथा एकमा हार बेहोरेको छ । जीतसँगै नेपालले शीर्ष दुईमा आफ्नो पकड बलियो बनाएको छ ।