आईपीएल २०१८ सुरु हुन केही दिन मात्रै बाँकी छ । आईपीएल सुरु हुनुभन्दा केही समयअघि विकेटकीपर ब्याट्सम्यान ऋद्धिमान साहाले तुफानी ब्याटिङ गर्दै सबैलाई अचम्मित पारिदिएका छन् ।
साहाले मुखर्जी ट्रफी टी–ट्वेन्टी प्रतियोगितामा विस्फोटक ब्याटिङ गर्दै केवल २० बलमा शतक प्रहार गरेका हुन् । ३३ वर्षीय साहाले बीएनआर रिक्रियसन ब्लबको विरुद्ध शनिबार कालीघाट मैदानमा शानदार प्रदर्शन गरेका हुन् ।
विपक्षी टिमलाई निर्धारित २० ओभरमा १५१ रनमै रोकेको मोहन बगानलाई ओपनर्स साहा तथा कप्तान शुभमय दासले उत्कृष्ट साझेदारी गर्दै केवल ७ ओभरमै १५४ रन बनाउँदै खेल जिताएका हुन् । शुभमयले २२ बलमा ४३ रन बनाए । साहाले ७ औँ ओभरका सबै बलमा छक्का प्रहार गरे । एक वाइडसहित सातौँ ओभरमा मोहन बगानले ३७ रन जोडेको थियो ।
अफिसियल खेलमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने ब्याट्सम्यानको कुरा गर्नु पर्दा योभन्दा पहिले यस्तो भएको छैन । टी–ट्वेन्टी खेलमा सबैभन्दा छिटो शतक प्रहार गरेका छन् ऋद्धिमानले ।
यसभन्दा अगाडि उनले आईपीएल २०१४ को फाइनलमा किंग्स इलाभेन पञ्जाबको तर्फबाट नटआउट रहँदै ५५ बलमा ११५ रन बनाएका थिए । यसका बाबजुद पनि उनको टिम कोलकाता नाइट राइडर्ससँग हारेको थियो । यसपल्ट साहालाई सनराइजर्स हैदराबादले ५ करोड रुपैयाँमा किनेको छ ।
साहाले २० बलमा १४ छक्का र ४ बल प्रहार गर्दै नटआउट रहँदै १०२ रन बनाएका हुन् । उनको स्ट्राइक रेट ५१० रन रह्यो ।