पोखरामा खेल पर्यटनमार्फत समृद्धि : मन्त्री विश्वकर्मा

पोखरामा खेल पर्यटनमार्फत समृद्धि : मन्त्री विश्वकर्मा
खेल

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदका पूर्वाधारको निर्माण गरी पोखरामा खेल पर्यटनको विकास गरिने बताउनुभएको छ ।

पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्याराफिट (स्टेडियम) को आज शिलान्यास गर्दै उहाँले काठमाडौँ पछिको दोस्रो शहर पोखरामा खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गरिने बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेल पूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको उल्लेख गर्दै उहाँले रङ्गशाला निर्माणका लागि निर्माण कम्पनीलाई उपयुक्त वातावरण बनाइने स्पष्ट पार्नुभयो ।

उहाँले संसारमा खेलिने सबै खेल सञ्चालनका लागि प्राकृतिक रुपमा गण्डकी प्रदेशसमा सम्भावना रहेको भनाइ राख्नुभयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले खेलकूद मन्त्रालय र राखेपले पोखरालाई ‘स्पोर्टस् टुरिजम सिटी’का रुपमा विकास गर्न प्रस्ताव तयार पारिरहेको जानकारी गराउँदै सो प्रस्ताव पोखरा महानगरलाई हस्तान्तरण गरिने बताउनुभयो ।

प्रदेशसभा सदस्य राजीव पहारीले नेपालमा पूर्वाधार निर्माणमा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै फुटबल स्टेडियम तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । निर्माण कम्पनीका प्रतिनिधि अनुप आचार्यले गुणस्तरीय निर्माणसहित नमूना हुने गरी निर्धारित समयमै सम्पन्न गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले स्टेडियमको काम सकिएपछि पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खुल्ने बताउनुभयो ।
करीब १८ हजार ५०० दर्शक क्षमताको फुटवल स्टेडियमको कूल लागत रु एक अर्व २८ करोड २२ लाख १८ हजार १७४ रहेको छ । स्टेडियम निर्माणका लागि गत पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी) बीच सम्झौता भएको थियो । सो स्टेडियम आगामी असार मसान्तभित्रमा निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ । फ्रान्समा निर्मित सामग्रीको प्रयोग गरेर प्याराफिट निर्माण गरिनेछ ।

Post Comment