पीपीएल क्रिकेटमा काठमाडौँद्वारा विराटनगर पराजित

पीपीएल क्रिकेटमा काठमाडौँद्वारा विराटनगर पराजित
खेल समाचार

पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको आजको खेलमा काठमाडौँ गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर व्याटिङ रोजेको काठमाडौँले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रन मात्र जोड्न सफल भयो ।

चार खेल खेलको काठमाडौँ दुई खेलमा जीत तथा दुईमा हारसँगै ४ अङ्क जोडेर समूहमा दोस्रो स्थानमा रहन सफल भयो । एक खेल कम खेलेको बुटवलकोसमेत समान चार अङ्क रहे पनि रनरेटमा काठमाडौँ अघि छ ।

काठमाडौँ पहिलो खेलमा पोखरा पल्टनसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो भने तेस्रो खेलमा धनगढीलाई पराजित गरेको थियो ।

विराटनगर पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भएको थियो । इनिङ्सको एक दशमलव चार ओभरमा शुरुआती व्याट्सम्यान मुहमद जैद आलम र सुनिल धमला मात्र चार रन जोडेर बाहिरिनुभएपछि विराटनगरले खराब शुरुआत ग¥यो । तर मध्यक्रममा व्याटिङ सम्हाल्न आउनुभएका नोमान खान र पुनित मेहराले सातौँ विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङमाथि उकासे पनि जीतका लागि पर्याप्त हुन सकेन ।

मेहराले ३१ बलमा ५३ रन जोड्दै अर्धशतक पूरा गर्नुभएको थियो भने खानले २६ बलमा २५ रन जोड्नुभयो । त्यस्तै तेस्रो क्रममा व्याटिङमा आउनुभएका कप्तान प्रदीपसिंह ऐरीले २७ बलमा २९ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सक्नुभएन ।

काठमाडौँका सुवोध भाटीले तीन तथा अमर रौटेला र वसन्त रेग्मीले समान दुई र अमृत भट्टराई र सुशान भारीले एक÷एक विकेट लिनुभएको थियो । काठमाडौँका शुरुआती व्याट्सम्यान गौरव तमोर पहिलो ओभरको अन्तिम बलमा खाता नै नखोली पेभिलिएन फर्किए पनि कप्तान ज्ञानेन्द्र मल्ल र जयकृष्ण कोल्शावालाले टोलीका लागि महत्वपूर्ण ६६ रनको साझेदारी गर्दै टोलीका लागि सम्मानजनक स्कोर तयार गर्न योगदान दिनुभएको थियो ।

पुनित मेहराको बलमा शाह आलमबाट क्याच आउट हुनुअघि कोल्सावालाले ४३ बलमा ५५ रन अर्धशतक तयार गर्नुभएको थियो । मल्लले तीन चौका र दुई छक्कासहित ३३ बलमा ४५ रन जोड्नुभएको थियो । विराटनगरका मेहराले दुई तथा किशोर महतो, जीतेन्द्र मुखिया र नोमान खानले एक÷ एक विकेट लिन सफल हुनुभयो ।

Post Comment