ओमानसँग नेपालले बेहोर्यो नराम्रो हार

ओमानसँग नेपालले बेहोर्यो नराम्रो हार
खेल समाचार

काठमाडौं, २२ माघ । आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ । किर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर बलिङ रोजेको नेपलाले १९८ रनको लक्ष पछ्याउने क्रममा हार अबेहोरेको हो ।

ओमानले दिएको १९८ रनको सामान्य लक्ष पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउंदै १७९ रन मात्रै बनाउन सक्यो ।

४२ बलमा नेपाललाई जितको लागि ३६ रन चाहिएको थियो । क्रिजमा थिए ५५ रन बनाएर खेलिरहेका शरद भेषावकर र २७ रन बनाएका सन्दीप लामिछाने । खेल नेपालको पक्षमा थियो । तर ४३.१ ओभरमा शरद आउट भएसँगै नेपाल दबाबमा आयो । लगतै ४४.१ ओभरमा सन्दीप पनि २८ रनमा आउट भए । यसपछि भने खेल ओमानको पोल्टामा गयो ।

खराब सुरुवात गरेको नेपालले ४ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ललाई १ र पारस खड्कालाई ३ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले राम्रो साँझेदारी गर्दै नेपाललाई उकासेका थिए । शरदसँग मिलेर ६२ रनको साँझेदारी गरेका दीपेन्द्र ३६ रनमा मोहम्मद नदिमबको बलमा एल्बिडब्लु आउट भए ।

दीपेन्द्र आउट हुँदा नेपालको ६६ रन थियो । २३.१ ओभरमा आरिफ शेखलाई व्यक्तिगत ६ रनमा गुमाएको नेपालले रोहित कुमार पौडेललाई लगतै शुन्य रनमा गुमाउँदा स्कोर ७३ रन थियो । त्यसपछि ब्याटिङ गर्न आएका विनोद भण्डारी र शरदले मिलेर नेपाललाई १०० रन पार गराएका थिए । तर विनोद भण्डारी पनि २६ रन बनाएर आउट भए ।

बलिङतर्फ ओमानका जिशन साकसोदले ३ र विलाल खान र कलिम उल्लाहले समान २–२ विकेट लिए । त्यस्तै, नेपालका लागि सुशन भारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । उनले पूरै १० ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ ओभर मेडन राख्दै ३ विकेट लिए । अर्को एक विकेट दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो ।

सिरिज अन्तर्गत बिहीबार ओमानले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comment