रुपेन्देही । शारीरिक तन्दुरुस्ती र खेलको विकासका लागि बिहानको समयमा ब्याडमिन्टन खेल्नेको सङ्ख्या यस जिल्लामा प्रतिदिन बढ्दै गएको छ । पहिले बिहान हिँडेर (मर्निङ वाक) शारीरिक अभ्यास गर्नेहरु अहिले ब्याडमिन्टन खेलतर्फ आकर्षिक भएका छन् तर पूर्वाधार अभावले उनीहरुको ब्याडमिन्टन खेल्ने चाहनालाई भने खुम्च्याइदिएको छ ।
शहरी क्षेत्रमा भएका केही ब्याडमिन्टन कभर्डहल सीमित व्यक्तिको कब्जामा छन् । कभर्डहल प्रवेशमा अत्यधिक महङ्गो शुल्क तोकिएको छ र यसको सञ्चालन केही व्यक्तिको हातमा राखिएको छ । यसकारण यस जिल्लाका सामान्य आय भएका व्यक्ति ब्याडमिन्टन खेलबाट वञ्चित हुनु परेको गुनासो बढ्दो छ । बुटवल–१३ वेलवासका बाबुराम भुसालको पनि यस्तै गुनासो छ ।
जिल्लामा बुटवल र भैरहवामा इन्डोर र आउटडोर गरी करिब ७० वटा कभर्डहल तथा कोर्ट छन् । ती मध्ये छ वटा कभर्डहल मात्र व्यवस्थित छन् । यहाँ खेल्न आउनेमा अधिकांश सेना र प्रहरीका अधिकृत र प्रतिष्ठित व्यक्ति देखिन्छन् । ब्याडमिन्टन खेल्न कभर्डहल खोज्दै जाने खेलाडीलाई महङ्गो शुल्कले अवरोध पु¥याएको छ ।
यहाँ सार्वजनिक स्थानमा निर्माण भएका कभर्डहलमा ब्याडमिन्टन खेल्न चाहनेहरुले समेत क्लबलाई रकम तिर्नुपर्ने बाध्यता रहिआएको छ । जिल्लाकै व्यवस्थित मानिएको बुटवल–११ मा रहेको नव–दिलीप कभर्डहलमा ब्याडमिन्टन खेल्न चाहनेले रु ५० हजार तिरेर सदस्य बन्नुपर्छ । त्यसपछि पनि वार्षिक साढे सात हजार रुपैयाँ तिरेर नवीकरण गर्नुपर्छ ।
यसबाहेक पनि खेलका लागि हुने दैनिक सामान्य खर्चबाहेक अन्य खर्च आफैँ व्यहोर्नुपर्छ । यो कभर्डहलमा नियमित ब्याडमिन्टन खेल्ने ८० खेलाडी छन् तर शुल्कअनुसार खेलाडीलाई सुविधा नभएको उनीहरुले गुनासो गर्ने गर्छन् । सरकारका तर्फबाट आवश्यक सहयोग नभएका कारण शुल्क लिने गरेको बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष रमेश थापा बताउँछन् ।
‘खेलाडीबाट सङ्कलित रकम कभर्डहलको पूर्वाधार निर्माणमा खर्च गर्छौँ’, उनले भने । सो कभर्डहलको पूर्वाधार विकासका लागि बुटवल उपमहानगरपालिकाले समेत यो वर्ष करिब रु साढे ७ लाख सहयोग गरेको भए पनि सो रकम पर्याप्त नभएको अध्यक्ष थापाको भनाइ छ । खेलका लागि खेलडीहरुबाटै रकम सङ्कलन गरिए पनि सुविधा भने केही नभएको खेलाडीको गुनासो छ ।
जिल्लामा भैरहवा, बुटवल, मधवलीया, शङ्करनगर, वेलवास र मुर्गियामा गरी छ वटा व्यवस्थित इन्डोर कभर्डहल रहेको बुटवल ब्याडमिन्टन क्लबले जनाएको छ । सार्वजनिक जमीनमा सरकारी लगानीबाट निर्माण भएका पूर्वाधारमा त्यसरी सामान्य आम्दानी भएका खेलाडीलाई वञ्चित गर्ने गरी तोकिएको शुल्कप्रति कसैको ध्यान पुगेको पनि पाइँदैन ।
भैरहवा ब्याडमिन्टन कभर्डहलमा खेल्न चाहनेले पनि क्लबको आजीवन सदस्यका लागि रु एक लाख, वार्षिक रु छ हजार र महिनाको रु १५ सय तिर्नुपर्छ । सरकारको लगानी पर्याप्त नहुँदा कभर्डहलको व्यवस्थापनका लागि रकम लिने गरेको क्लबका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म सरकारको लगानी करिब रु १६ लाख मात्र छ, यो पर्याप्त नभएपछि व्यवस्थापनका लागि खेलाडीबाटै रकम उठाउने गरेका छौँ ।’
रुपन्देहीको सैनामैना नगरपालिकामा करिब रु एक करोड पाँच लाखको लगानीमा हालै कभर्डहल बनेको छ । कभर्डहल बनाउन जिल्ला समन्वय समितिले रु १० लाख, जिल्ला खेलकूद विकास समितिले रु १० लाख र सैनामैना नगरपालिकाले रु ८५ लाख लगानी गरेका छन् । कभर्डहलको आजीवन सदस्यका लागि रु ७० हजार र सदस्य बन्न रु ३५ हजार शुल्क तोकिएको नन्दबहादुर थापाले बताए । यो बाहेक समान्य नागरिकले समेत ब्याडमिन्टन खेल्न चाहे दैनिक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
कभर्डहलको व्यवस्थापन भन्दै जिल्लाका सबै कभर्डहलमा चर्को शुल्क लिने गरिए पनि खेलाडीलाई सुविधा भने दिइएको छैन । सरकारको लगानी भएको कभर्डहलमा क्लबहरुले आफुखुशी शुल्क तोकेर खेलाडीहरुबाट रकम असुल्ने गरिएको कार्य उचित नभएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की बताउँछन् । ‘कभर्डहल सञ्चालनका लागि नगरपालिकाले कार्यविधि बनाउन लागेको छ, अहिलेजस्तो कुनै एक समूह या व्यक्तिको एकाधिकार हुनेगरी कभर्डहल सञ्चालन गर्न दिदैनौँ, उपसमिति बनाएर आफैँ सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने ।
ब्याडमिन्टनका लागि खेलाडीलाई कभर्डहल अनिवार्य छ तर जिल्लामा कभर्डहल पर्याप्त नहुनु र भएकाले पनि सहज पहुँच नदिँदा नयाँ खेलाडी उत्पादन गर्न सकेका त छैनन् नै शारीरिक व्यायामका लागि ब्याडमिन्टन खेल्ने नागरिकलाई पनि आकर्षित गर्न सकेका छैनन् । यसका लागि सरकारकै लगानी आवश्यक रहेको बुटवल–१२ नयाँगाउँका स्थानीयवासी तथा उत्कृष्ट ब्याडमिन्टन खेलाडी विनोद पौडेलको धारणा छ । उनले भने, ‘खेलाडीलाई कभर्डहल अनिवार्य छ, कभर्डहल भएन भने अभ्यास गर्न गाह्रो हुन्छ ।’
जिल्लामा आयोजित मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगितामा पौडेल र विश्वास नेपालको जोडी विजेता बनेको थियो । त्यसपछि पौडेलले एक वर्षसम्म कभर्डहलमा निःशुल्क खेल्न पाएका थिए । ब्याडमिन्टन क्लबहरुले ब्याडमिन्टन प्रशिक्षण चलाएर खेलाडी उत्पादनमा सहयोग गर्नुको सट्टा महङ्गो शुल्क उठाएर सीमित व्यक्तिले शारीरिक अभ्यास गर्ने केन्द्रका रूपमा मात्र कभर्डहरु सञ्चालन गरेको विषयमा नगर खेलकुद समितिले अनुगमन गर्ने बुटवल उपमहानगरपालिकाअन्तर्गतको नगर खेलकुद समितिका अध्यक्ष नन्दबहादुर काउचा बताउँछन् ।
अध्यक्ष काउचाले ब्याडमिन्टन क्लबहरुले अस्वाभाविक शुल्क तोेक्दा खेलाडीहरु वञ्चित हुनुका साथै सिङ्गो ब्याडमिन्टन खेल नै प्रभावित भएकाले यसलाई सुधार गर्न समितिले पहल गर्ने जानकारी दिए । ‘नगरमा खेलकूदको विकासका लागि योजनाबद्ध तरिकाले काम गर्दैछौँ, अहिले नगरमा कुन क्षेत्रमा के कस्ता पूर्वाधार निर्माणका काम गर्नुपर्ने छ भनेर योजना बनाउँदैछौँ र त्यसका लागि सबै वडामा पत्राचार गरेका छौँ’, उनले भने ।