यही पुस १३ देखि १७ गतेसम्म १६ औँ पोखरा सडक महोत्सव हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेंन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले नेपाल पर्यटन बोर्डलगायत विभिन्न संस्थाको सहयोगमा लेकसाइडमा महोत्सव गर्न लागेको हो ।
मुलुकको मात्र नभई विश्वकै प्रमुख पर्यटकीयस्थल पोखराको सेरोफेरोसहित देशका विविध संस्कृतिहरूको विश्व बजारमा थप परिचित गराउने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।महोत्सवलाई भव्य र सभ्य बनाउन चौबहादुर गुरुङको संयोजकत्वमा २४ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति तथा थप विभिन्न उपसमिति गठन गरिएको छ ।
पोखराको मुख्य पर्यटकीयस्थल लेकसाइडलाई समेटेर आयोजना गरिँदै आएको सो महोत्सव सहिद चोकदेखि खहरे–डिहिकोपाटनसम्मको करिब साँढे तीन किलोमिटर क्षेत्रमा सडकमै खाने, नाच्ने व्यवस्था गरिने आयोजकले जनाएको छ ।महोत्सवका क्रममा सडकमा पोखराका विभिन्न सङ्घसङ्स्थाका झाँकी प्रदर्शन, पोखरा सेरोफेरो जनजातिको संस्कृति प्रदर्शन, पोखराभन्दा बाहिरको सांस्कृतिक कार्यक्रम, बर्दियाको थारु सांस्कृतिक समूह, उपल्लो मुस्ताङ लोमान्थाङको सांस्कृतिक समूह, पूर्वाञ्चलबाट किराँत समूहका आधारित सांस्कृतिक कार्यक्रम, लमजुङको पर्यटकीय घलेगाँउको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।
पत्रकार सम्मेलनमा महोत्सवका संयोजक गुरुङले प्रमुख पर्यटकीय नगरी पोखराको प्राकृतिक तथा सांस्कृतिक विविधतालाई मात्र नभई यसपटक देशका हरेक संस्कृतिलाई उजागर गर्नेगरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विविध संस्कृतिहरूको प्रस्तुति गरिने बताउनुभयो ।विगतमा याममा मात्र पर्यटकको भीड लाग्ने पोखरामा पछिल्लो समय महोत्सवकै कारण १२ महिनै पर्यटक आउने र पोखराका होटल तथा रेस्टुरेन्ट भरिने गरेको व्यवसायीको भनाइ छ ।
पोखरामा अहिले १५ हजार कोठा क्षमताका होटल रहेको र थप पाँच हजार थपिनेक्रममा रहेको बताइन्छ । रासस