भद्रपुर, ११ पुस । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी एवम् सिसिटिभी क्यामरा जडान समितिको पहलमा झापाको सदरमुकाम लेखनाथ चोकमा जडित क्यामराको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले आज उद्घाटन गर्नुभयो ।
क्यामरा लेखनाथ चोक, चन्द्रगढी ढाठ, पार्क चोक र मेची अञ्चल प्रहरी कार्यालय अगाडिसहित चार स्थानमा जडान भएको छ ।
क्यामराका लागि रु एक लाख आर्थिक सहयोग गर्ने जिल्ला विकास समिति, रु ५० हजार सहयोग गर्ने गिरी बन्धु टिस्टेटका छत्र गिरी, रु २५ हजार सहयोग गर्ने आन्तरिक राजस्व कार्यालय भद्रपुर, रु २० हजार सहयोग गर्ने तत्कालीन चन्द्रगढी गाविस र रु २० हजार सहयोग गर्ने राष्ट्रिय वाणिज्य बैंक जस्ता सबै सहयोगी सङ्घ संस्था एवम् व्यक्तिलाई सम्मान पनि गरियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले अपराधरहित समाज निर्माण गर्न यस्तो क्यामराले महत्वपूर्ण योगदान दिने धारणा राख्नु भयो ।
स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले हाम्रो चन्द्रगढी, राम्रो चन्द्रगढी नारालाई मूर्तरुप दिन र समाजमा अपराध गरी पहिचान मेटाउन खोज्ने प्रवृत्तिका मानिसलाई पत्ता लगाउन यो क्यामराले धेरै ठूलो मद्दत गर्ने विचार व्यक्त गर्नुभयो ।रासस