बुद्धसँग सम्बन्धित बुद्धमङ्गल ताल ओझेलमा

समाचार

परासी, २१ पुस । नवलपरासीको जहदामा बुद्धसँग सम्बन्धित बुद्धमङ्गल ताल संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

बुद्धसँग सम्बन्धित विभिन्न विषयवस्तुसहित यस तालको थुप्रै विशेषता मानिन्छ । यस तालमा नाकमा नत्थी लगाएका माछा रहेको समेत विश्वास रहिआएको छ । परापूर्वकालमा शान्तिका अग्रदूत गौतमबुद्ध यस तालमा आएर पानी लिएर एक रात बिताएर लुम्बिनी गएको धार्मिक किंवदन्ती रहेको छ । करिब सात बिघा चार कट्ठा क्षेत्रफलमा रहेको ताल संरक्षण तथा व्यवस्थापनको अभावमा ओझेलमा परेको स्थानीयवासीको भनाइ छ ।

शान्तिका अग्रदूत भनेर संसारले मान्दै आएका गौतम बुद्धसँग सम्बन्धित यस तालका बारेमा कतिपयलाई त जानकारीसमेत छैन भने जानकारी भएकाले पनि संरक्षणका लाागि आवाज उठाएको पाइँदैन ।

सरकारको यस तालप्रति ध्यान पुग्न नसक्दा ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने तालवरपर जङ्गलमा विभिन्न नयाँ प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको छ ।

नाकमा सुनको नत्थी लगाएका माछा पाइने तालको नामबाट चिनिने यो ताल पछि आएर २०५० सालमा बुद्धमङ्गल ताल भनेर नामकरण गरिएको पाइन्छ । धार्मिक मात्र नभई पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेको बुद्धमङ्गल तालमा पूजाआजा गर्न आउने श्रद्धालु भक्तजन होस् वा विवाह व्रतबन्ध सप्ताहदेखि मनोरञ्जन उद्देश्यले यो क्षेत्र महत्वपूर्ण रहेको छ ।

बुद्धमङ्गल तालवरिपरि त्यस्ता थुप्रै धार्मिक सम्पदा रहेका छन् । तालवरिपरि रिङरोडभित्रै रहेको सत्सङ्ग मन्दिर पनि यस तालको प्रमुख विशेषताका रूपमा रहेको छ । वरिपरि वन बीचमा तालतालमा नीलै फलेका नीलकमलले पनि झन् यस क्षेत्रको वातावरण आनन्दमय हुन पुगेको छ । रासस

Post Comment