बाबियाचौर (म्याग्दी), २० माघ । म्याग्दीको बेनीमा रहेको गोर्खा भूतपूर्वसैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु २० हजार राशिको खुल्ला निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको छ ।
सहकारी अभियानमा चासो र सहभागिता बढाउने उद्देश्यले ‘वैदेशिक रोजगारीमा रहेका युवा समूहको ग्रामीण विकासका लागि सहकारीसँग सहकार्य’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको संस्थाले जनाएको छ ।
खुल्ला रूपमा इमेल अथवा अन्य माध्यमद्वारा फागुन मसान्तसम्म संस्थामा तोकिएको शीर्षकमा नेपाली भाषामा निबन्ध लेखेर पठाउनेमध्ये उत्कृष्ट एकजनालाई रु २० हजार नगद पुरस्कार प्रदान गरिने संस्थाका उपाध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो ।
उत्कृष्ट निबन्ध लेख्नेलाई आगामी चैत २० गते राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कृत एवम् सम्मानित गरिने संस्थाले जनाएको छ । यसैगरी तीनजनालाई जनही रु पाँच हजारका दरले सान्त्वना पुरस्कार उपलब्ध गराइने संस्थाका देउप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।
निबन्धमा सहकारी, वैदेशिक रोजगारी, ग्रामीण अर्थतन्त्रमा विप्रेषणको भूमिका र सहकारीमार्फत रोजगारी सृजनाका सम्भावनालगायत विषय उल्लेख गर्नुपर्ने आयोजकले बताएका छन् । भारतीय र बेलायत सैनिकबाट सेवा निवृत्त भएका भूपूसैनिकले स्थापना गरेको उक्त सहकारीले निक्षेप सङ्कलन, विभिन्न उत्पादनशील क्षेत्रमा कर्जा लगानी, विप्रेषणलगायतका सुविधा प्रवाह गर्दै आएको छ । रासस