विद्यार्थी होइन नयाँ भवनको खाँचो – विश्व निकेतन विद्यालय

समाचार

काठमाडौँ, २० माघ । भारतको कलकत्तामा रवीन्द्रनाथ टैगोरको पहलमा शान्ति निकेतन खुलेपछि त्यसलाई पछ््याउँदै नेपालमा विसं २००३ माघ १९ गते श्रीपञ्चमीका दिन ‘विश्व निकेतन विद्याश्रम’ स्थापना भयो, जुन अहिले विश्व निकेतन उच्चमाध्यमिक विद्यालयका नामबाट स्थापित छ । आफ्नो ६९औँ वर्षगाँठमा पाइला टेक्दा सरकारी स्वामित्वको यस सामुदायिक विद्यालयलाई विद्यार्थीको खाँचो छैन, अभिभावक र सरोकारवालाको साथ पनि उत्तिकै छ, केवल खाँचो छ भौतिक पूर्वाधारको ।

तीन दशकअघिको पुरानो भवन भत्काएर नयाँ भवन बनाउने विद्यालयको सपना पूरा गर्न लाग्ने बजेट कसले दिने ? विद्यालय परिवारले यो प्रश्न अन्य निकायलाई त गरिनै रहेको छ, आफ्ना पूर्व विद्यार्थीसमेत रहनुभएका अर्थमन्त्री डा रामशरण महतलाई सोमबार विद्यालय परिसर त्रिपुरेश्वरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेर भवनका लागि विशेष बजेटको व्यवस्था गर्न माग पनि गरेको छ ।

विद्यालय शिक्षाको बजेट र कार्यक्रम तर्जुमा शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागले गर्दै आएको स्थितिमा अर्थमन्त्रीले तत्काल कुनै प्रतिबद्धता व्यक्त गर्ने अवस्था थिएन तर उहाँका सहपाठीसमेत रहनुभएका व्यवस्थापन समितिका वर्तमान अध्यक्ष कुवेरबहादुर क्षेत्रीलाई भने अर्थमन्त्रीले के गरिदिने हुन् आशा मरेको छैन । यसै शैक्षिक सत्रमा विद्यालय हातामा चमेनागृह स्थापनाको लक्ष्य लिएको सो संस्थाले गत वर्ष जिल्ला विकास समितिको रु १० लाख सहयोगबाट विद्यालयको मूलढोकाबाट प्राङ्गणसम्म ढलान गरिएको छ । विद्यालयको वार्षिक बजेट एक करोड रुपैयाँको हाराहारीमा छ ।

अर्थमन्त्री महतले सो विद्यालयमा आफूले कक्षा ६ देखि १० सम्म गरी पाँच वर्ष व्यतित गरेको र ती दिन स्मरण गर्दा भावुक भएको बताउनुभयो । पुरानो भवन देखाउँदै उहाँले भन्नुभयो, “ऊ त्यही हो मैले कक्षा ६ मा पढेको, त्यसबेला हामीलाई कहिले शिक्षकको कार्यालयसँगैको कक्षा १० मा पुगौँला भन्ने हुन्थ्यो ।” महतले २०२० सालमा त्यहाँबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको हो ।

अर्थमन्त्रीले बोलिरहँदा मञ्चमा पूर्व प्रधानाध्यापक सत्यनारायण राजभण्डारी हँसिलो मुद्रामा सुनिरहनुभएको थियो । संयोग, अर्थमन्त्री महतलाई पढाउने राजभण्डारी पछि बूढानीलकण्ठको प्रिन्सिपल हुनुभयो, जहाँ महतका छोराले पढ्नुभएको थियो । आफ्ना छोराले साथीहरूसँग “मेरा बुबाका पनि प्रिन्सिपल राजभण्डारी नै हो ” भनेर सुनाउँदा उनीहरूले पत्याएनछन्, महतले सुनाउनुभयो ।

नरमान श्रेष्ठले यङ्गाल टोलमा रहेको आफ्नो घरमा विसं २००३ माघ १९ गते श्रीपञ्चमीका दिन ‘विश्व निकेतन विद्याश्रम’ का नामबाट सो विद्यालयको स्थापना गर्नुभएको थियो । यसका संस्थापक प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । चर्चित नायक स्व श्रीकृष्ण श्रेष्ठ पनि यसै विद्यालयका उत्पादन हुनुहुन्छ । यस्तै, शिक्षाविद् केदारभक्त माथेमा, नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, डा बालगोपाल वैद्य, खेलाडी नयना शाक्य, नायिका कृति भट्टराई पनि यही विद्यालयका उत्पादन हुनुहुन्छ । सहायक प्रधानाध्यापक विणा लोहनी विद्यालयमा पढाइको स्तर राम्रो भएको तर नयाँ भवन र पूर्वाधारमा केही कमजोर रहेको बताउनुहुन्छ ।

देशका ६३ जिल्लाका विद्यार्थी पढ्ने यहाँ शिशु कक्षादेखि स्नातकसम्मको पढाइ हुन्छ । विसं २०६६ देखि यही हातामा विश्वदीप बहुमुखी क्याम्पसका नामबाट व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक कक्षा सन्चालित छ । सामुदायिक विद्यालय भए पनि यहाँ पछिल्ला वर्षमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ, त्यसैले होला माध्यमिक तहमा मात्रै एक हजार २७७ र उमाविमा ९१६ विद्यार्थी यसले पाएको छ ।

उपत्यकाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी शून्य हुने क्रम देखिएका बेला विश्व निकेतन भने भरिभराउ देखिन्छ । गत वर्ष यस विद्यालयले भर्ना अभियानका समयमा पञ्चेबाजा बजाएर नयाँ विद्यार्थी भित्र््याएको थियो । गत वर्ष यहाँका कुल १४६ विद्यार्थी प्रवेशिका परीक्षामा सामेल भएकामा ११२ जना (७६ दशमलव ७ प्रतिशत) उत्तीर्ण भएका थिए । सोही वर्ष उमावितर्फ कक्षा १२ को विज्ञान विषयमा त ९६ दशमलव १६ प्रतिशतसम्म उत्तीर्ण भएको प्राचार्य निर्मल गिरी बताउनुहुन्छ ।

“यसमा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सबैको मेहनत छ, म त एक सहजकर्ता मात्र हुँ” – गिरीले भन्नुभयो । रासस

Post Comment