विराटनगर, २८ माघ । युवालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले युवा लक्ष्यित कार्यक्रममार्फत रु एक करोडभन्दा बढी अनुदानको रुपमा वितरण कार्य सुरु गरेको छ ।
सो कार्यक्रमअन्तर्गत तरकारी, च्याउ र मत्स्य खेती गरी तीनवटा कार्यक्रमका साथै साना सिँचाइ र बासमती तथा मसिनो धानको खेतीलगायत कार्यक्रमका लागि सो बराबरको रकम अनुदानको रुपमा वितरण गर्न थालिएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।
सोअन्तर्गत मोरङमा तरकारी खेतीका लागि रु ३६ लाख अनुदानको रुपमा वितरण कार्य थालिएको छ । यसका लागि ६० युवा कृषकलाई छनोट गरिएको छ । प्रत्येकलाई रु ६० हजारका दरले रकम वितरण गरिने सो कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभयो । यसबापत युवा कृषकले पहिलो किस्तासमेत प्राप्त गरिसकेको उहाँले बताउनुभयो ।
त्यसैगरी च्याउ खेतीमा ४० युवालाई छनोट गरिएको र प्रत्येकलाई रु ४० हजार दरले रु १६ लाख वितरण गरिने छ । सोहीअनुरुप, युवा लक्ष्यित मत्स्य कार्यक्रमअन्तर्गत चार जनालाई रु दुई लाख १० हजारको दरले रु आठ लाख ४० हजार वितरण गरिने सो कार्यालयले जनाएको छ ।
युवा लक्ष्यित कार्यक्रममा अनुदान पाउनका लागि ४० वर्षभन्दा मुनिका जनजाति, महिला, मधेसी र दलितका साथै वैदेशिक रोजगारबाट फर्केका, रोजगारका लागि विदेश जान खोजेका युवालाई प्रथम प्राथमिकतामा राखिएको कार्यालयका प्रमुख उप्रेतीले उल्लेख गर्नु भयो ।
यसका साथै सुरुदेखि तरकारी, च्याउलगायतको खेतीमा संलग्न भएका र विगतमा गर्दै आइरहेका ती खेतीमा दुई गुणाको दरले बढोत्तरी गर्नसक्ने खालका युवा किसानलाई अनुदानका लागि छनोट गरिएको उहाँले थप्नुभयो ।
यसका साथै साना सिँचाइमा पनि अनुदानको व्यवस्था गरिएको छ । सोमार्फत मोरङमा २९ वटा योजनाका लागि रु ४३ लाख अनुदानको रुपमा वितरण गरिनेछ । यस कार्यक्रममा सर्वसाधारण किसानलाई पनि समावेश गरिएको छ । त्यसैगरी १५ हेक्टर जग्गामा पोखरी खन्नका रु १५ लाख ७५ हजार अनुदानको व्यवस्था छ । किसानले खन्ने पोखरीको क्षेत्रफलको आधारमा अनुदान उपलब्ध गरिने सो कार्यालयले जनाएको छ ।
यसका साथै मसिनो धानको खेतीको बीउका लागि अनुदानको रुपमा रु ११ लाख ४० वितरण गरिने योजना छ । मसिनो धानको खेतीका लागि ७५ विगाहा खेत हुनुपर्ने नियम पनि रहको बताइएको छ । रासस