काठमाडौँ, २८ माघ । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले गौतम बुद्धको जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यपुस्तकमा रहेका गलत जानकारीहरूलाई सच्याउन र अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको प्रचारप्रसार गर्न २०१५ मई ४ र ५ मा बेल्जियमको राजधानी ब्रसेल्समा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन तथा विश्व शान्ति ¥यालीको आयोजना गर्न गइरहेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन र विश्व शान्ति ¥यालीलाई लक्ष्यित गरेर अभियानको राष्ट्रिय समिति बेल्जियमले लुभेनको ओन्स हाउसमा हालै एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो अन्तरक्रियामा अन्तर्राष्ट्रिय सम्मेलन मूल आयोजक समितिका सदस्य तथा अभियानका नर्वे राष्ट्रिय संयोजक डा कृष्णप्रसाद अर्याल र अन्तर्राष्ट्रिय सम्मेलन मूल आयोजक समितिका अर्का सदस्य तथा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले सम्मेलनको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो ।
डा अर्यालले लुम्बिनीको पुरातात्विक उत्खननमा योगदान पु¥याउँदै आएका वरिष्ठ पुरातत्वविद्हरूले अनुसन्धानात्मक कार्यपत्रहरू सम्मेलनमा प्रस्तुत गर्ने जानकारी दिनुभयो ।
त्यसैगरी सल्लाहाकार आचार्यले विश्वका कतिपय देशहरूमा बुद्ध जन्मभूमिबारे गलत जानकारी भएका पाठ्यपुस्तक प्रचलनमा रहेको र ती पाठ्यपुस्तक सच्याउने कार्य गर्दै अगाडि बढे यसबारेको भ्रमबाट विश्वका जनता मुक्त हँुदै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो – केही महिना अघि नेपालको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बुद्धको जन्मभूमि हो भनेर सत्य कुरा बोल्नुभएकाले कतिपय भारतीयहरूलाई विगतमा जस्तै अब ढाट्न अप्ठेरो भएको छ ।
यसैबीच, बेल्जियमस्थित नेपाली राजदूतावाससँग सहकार्य र सहयोग बढाउने सिलसिलामा अभियानले राजदूत राममणि पोखरेल र दोस्रो सचिव लक्ष्मण खनालसँग छलफल गरेको थियो ।
सम्मेलनका लागि आवश्यक आर्थिक सहयोग जुटाउन नेपाल सरकारसामु अभियानले गर्ने अनुरोधलाई अगाडि प्रस्तुत गरिदिन र बेल्जियमस्थित विभिन्न देशका कूटनीतिक नियोगका राजदूतहरूलाई सम्मेलनमा अतिथिको रूपमा सहभागी बनाउन नेपाली दूतावासले खेल्नुपर्ने भूमिकाबारे सकारात्मक छलफल भएको जनाइएको छ । रासस