काठमाडौं, साउन १३ । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपरान्ह धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित ९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाईतेहरुको यथाशीघ्र उद्धारका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएका छन् ।
उपराष्ट्रिपति पुनका प्रेस संयोजक मनोज घर्तिमगरद्वारा जारी बिज्ञप्तीमा जनाईए अनुसार अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्यूठान, बागलुङ, रोल्पा, दाङ, पाल्पा, कपिलवस्तु, मकवानपुर, झापा, उदयपुर, रुपन्देही, अर्घाखाँची, पवर्त, सर्लाही, दोलखा, बारा, बाँकेलगायतका जिल्लामा बाढी पहिरोबाट दर्जनौँ मानिस मृत्यु बेपत्ता र घाइते भएकोप्रति आफु दुःखि भएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ ।
तराई मधेसमा डुबानको कारण हजारौँ नागरिक विस्थापित भएको, पहाडका भागमा पहिरोले घर बगाउँदा सयौँ परिवार विस्थापित भएको घटनाप्रति पनि दुःख व्यक्त गरिएको जनाइएको छ । उपराष्ट्रपति पुनले बाढी पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।