विमानस्थल भन्सारबाटै पास भएर भित्रियो तीन किलो कोकिन

समाचार

kokin

२७ साउन, काठमाडौं ।महँगो लागुऔषध कोकिन नेपाल ट्रान्जिट बनाएर तस्करी हुँदै आएको छ । चार वर्षयता कोकिन तस्करीको क्रम बढेको छ ।

बोलिभियाबाट तीन केजी ५४ ग्राम कोकिन लिएर आएकी बोलिभियन महिला रोज्जी गुड्डी टोलेडो भ्यालेजोस र कोकिन लिन आएकी थाई महिला वारान्या क्युपिकुल पक्राउ परेका छन् ।

उनीहरूलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार बरामद कोकिनको मूल्य ६ करोड १० लाख ८० हजार रुपैयाँबराबरको रहेको प्रहरीले जनाएको छ ।

बोलिभियन महिलाले भ्यालेजोसले कोकिन अघिल्लो बुधबार नेपालमा सजिलै भित्राएकी थिइन् ।

सोही कोकिन मंगलबार मलेसिया हुँदै थाइल्यान्ड लैजान खोज्दा थाइ महिला क्युपिकुल प्रहरीको फन्दामा परेकी हुन् । विदेशबाट आउँदा पक्राउ नपर्ने र नेपालबाट अर्को देश लैजान खोज्दा लागुऔषध बरामद हुने गरेको छ ।

आगमनमा यात्रु र उनीहरूको सामानमाथि प्रहरीले चेकजाँच गर्न नपाउने भएकाले यस्तो समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । नेपालको भन्सार ऐनले भन्सार क्षेत्रमा प्रहरीलाई चेकजाँच गर्ने अधिकार दिएको छैन ।

शंका लागेको खण्डमा मात्र प्रहरीले लगेज र यात्रुमाथि चेकजाँच गर्न पाउँछ ।