काठमाडौं, भदौ ८ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले समयमै स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले भने,‘कसैले भाग लिएपनि नलिएपनि चुनाव हुनुपर्छ, संविधानले नै ०७४ माघ ७ भित्र तीनवटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, त्यसैले संविधान कार्यान्वयनको लागि पनि चुनाव समयमै गर्नुपर्छ ।’ उनले चुनाव तोकिएकै मितिभित्र सम्पन्न नभए संविधान नै फेल हुने बताए ।
उनले वर्तमान सरकार नैं समयमै चुनाव सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नको लागि गठन भएको उल्लेख गर्दै भने,‘त्यसैले सरकार तीनवटै निकायको निर्वाचन गराउन पूर्ण प्रतिबद्ध छ ।’
गजुरेलले पूर्नसंरचना आयोगले भने बमोजिम नै सरकारले चुनाव गर्ने स्पष्ट पारे । यद्धपी उनले आयोगले स्थानीय तहको संख्या र सिमा निर्धारण गर्दा जनसंख्या, भुगोललाई आधार बनाएर जनताको आवश्यकत्ता अनुसार सबै सेवासुविधा प्राप्त हुनेगरि निर्धारण गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले भने,‘पूरानै व्यवस्था अनुसार चुनाव हुनुपर्छ भन्ने कुरा संविधानसम्वद्ध छैन, यो चुनाव नगराउने र नहुने षड्यन्त्र मात्रै हो, संविधान कार्यान्वयन गर्नको लागि पनि समयमै चुनाव गर्नुपर्छ, हाम्रो पार्टी यसमा पूर्ण सचेत छ ।’
नेता आचार्यले दलहरुले आयोगलाई सुुझाव दिन सक्ने बताउँदै भने,‘आयोगले सरकारले दिएको टिओआर र संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार काम गर्ने हो, दलहरुले संख्या बढाउनुपर्छ भनेर आयोगलाई हस्तक्षेप गर्न खोज्नु, चुनाव हुन नदिने षड्यन्त्र मात्र हो ।’
नेपाली काँग्रेसका नेता एन.पि. साउदले आयोगले सिफारिश गरेबमोजिम ५६५ को संख्याको बारेमा आफ्नो पार्टीले कुनै सहमति नजनाएको स्पष्ट पारे । साउले आयोगले सिफारिश गरेको संख्या अव्यवहारिक रहेको आरोप लगाउँदै भने,‘यसले पूर्नसंरचना हुनै सक्दैन् ।’ उनले अघि थपे,‘यो संख्या बढाउनुपर्छ, यसमै सिमित हुनै सकिँदैन, कम्तिमा अहिलेको ईलाकाको संख्या ९२७ लाई आधार बनाएर संख्या निर्धारण गर्नुपर्छ ।’
यद्धपी उनले अहिलेको ईलाकाको संख्यालाई आधार मान्ने हो भनेपनि केही तलमाथि हुन सक्ने बताए । उनले चुनाव गराउनको लागि राजनीतिक सहमति हुनुपर्ने आवश्यकता औंल्याए ।
साउदले मुलुक अहिले संक्रमणकालिन अवस्थामा रहेको उल्लेख गर्दै विद्यमान गाविसको संख्यालाई आधार मानेर पनि चुनाव गराउन सकिने स्पष्ट पारे ।
साउदले मधेशी मोर्चाले चुनाव हुन दिन्न भन्नु र विरोध गर्नु भनेको विरोधको नाममा विरोध मात्रै गर्नु भएको टिप्पणी गरे । मधेशी मोर्चाका नेता मनिष सुमनले संविधान संशोधन नगरी चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।
उनले भने,‘मधेशी, आदिवासी, जनजाति सबैका भावनाहरुलाई समेटेर संविधान संशोधन गरेर संविधानलाई सर्वस्विकार्य बनाउनुपर्छ ।’
नेता सुमनले स्थानीय निकाय पूर्नसंरचना आयोगको काम तत्काल रोक्नुपर्ने माग गरे । उनले अघि थपे,‘पहिला राज्यको पूर्नसंरचना गर्नुपर्छ, सिमांकनको एकिन अवधारणा आउनुपर्छ ।’ यथाअवस्थामा आफूहरु तराईमधेशमा चुनाव हुनै नदिने उनको दाबी थियो ।