राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा सरसफाइ

समाचार

pokhara

पोखरा, भदौ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले शनिबार पोखरामा सरसफाइ गरेको छ।त्यस अवसरमा पृथ्वीचोकस्थित ट्राफिक कार्यालय अगाडिबाट सिर्जनाचोकसम्म सरसफाइ गरिएको थियो।

पोखरा उप-महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले कार्यक्रम संयोजक तथा प्रतिष्ठानका कार्यसमिति सदस्य दिलकुमारी मोक्तानलाई पञ्जाको बक्स हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे।

कार्यक्रमका प्रमुख अतिथि शर्माले पोखरालाई स्वच्छ र सुन्दर बनाउन सरसफाइ अभियानले थप टेवा पुर्‍याउने बताए। उनले कलाकार पनि सामाजिक कार्यमा केही गर्न सक्छौ भनेर जुटेको उल्लेख गर्दै नगरपालिका सहयोग गर्न तयार रहेको बताए।

प्रतिष्ठानका संरक्षक प्रजापति पराजुलीले हिजो गीत गाउनेमात्रै भनेर चिनिने कलाकार आज सामाजिक क्षेत्रमा पनि हातेमालो गरेर अगाडि बढिरहेको बताए। स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कलाकारमा सामाजिक भावना पनि उत्तिकै रहेको छ भन्ने नमूना कार्यक्रमले देखाएको बताए। प्रतिष्ठानका अञ्चल कार्य समितिका अध्यक्ष शंकर विरही गुरुङले कलाकार पनि यसै समाजका अङ्ग भएकाले समाजप्रति उत्तिकै दायित्व रहने बताए।

प्रतिष्ठानका सल्लाहकार कोविदशरण उपाध्यायले कलाकार परिचय डायरी प्रकाशनको तयारी भइरहेको बताए। कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य तथा लोकगायक चोलेन्द्र पौडेलकी पत्नी सावित्री पौडेलको शुक्रबार निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। प्रतिष्ठान कास्की अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टेक क्षत्रीले स्वागत र सञ्चालन सचिव ज्ञानेश्वर सुवेदीले गरेका थिए।