काठमाडौँ, भदौ १२ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गर्नुभएको भारत भ्रमणको बारेमा आज सदनलाई जानकारी गराउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा उहाँले भन्नुभयो– “आफनो भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, सहकार्य र सहयोग विस्तार गर्न तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न मद्दत पुगेको छ ।”
सरकारको गत साउन २७ गतेको निर्णयअनुसार उपप्रधानमन्त्री निधि प्रधानमन्त्री दाहालको विशेषदूतकारुपमा भारत भ्रमण गर्नुभई त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, पूर्वप्रधानमन्त्रीलगायतका नेतासँग दुई देशबीचको सम्बन्धका बारेमा विचार विमर्श गर्नुभएको थियो ।
भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजकीय भ्रमणको लागि पठाउनुभएको पत्र हस्तान्तरण गरेको, नयाँ सरकारको प्राथमिकता संविधान कार्यान्वयन गर्नु रहेकोले सबै पक्षलाई सहमतिमा ल्याएर अघिबढ्ने प्रयास भइरहेको बारेमा पनि आफूले त्यहाँका नेताहरुलाई जानकारी गराएको उपप्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुभयो ।
सो क्रममा उहाँले संविधान कार्यान्वयन गर्ने सिलसिलामा नेपालको संविधानअनुरुप सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनलाई पनि तोकिएको समयभित्रै गराउने विषयलाई पनि सरकारले प्राथमिकतामा राखेको बारे छिमेकीमुलुकका राजनेतालाई अवगत गराउनुभएको बताउनुभयो ।
भारतले गरेको उच्च आर्थिक प्रगतिबाट नेपाल पनि लाभान्वित हुन चाहेको, नियमित विकासका कार्यलाई सञ्चालन गर्न दुबै देशबाट आवश्यक प्रयासको आवश्यकता रहेको तथा सरकारले दुबै छिमेकीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बारेमा पनि उपप्रधानमन्त्रीले भारतीय नेतासँग छलफल गरेको बताउनुभयो ।
भारतीय नेताले नेपालको आर्थिक र सामाजिक विकासमा भारतीय सहयोग र सद्भाव निरन्तर कायम रहेको प्रतिवद्धता व्यक्त भएको बताउँदै उहाँले दुबै देशका उच्चस्तरीय भ्रमणलाई सफल तुल्याउन हरसम्भव प्रयास हुने भारतीय पक्षबाट विश्वास दिलाइएको उल्लेख गर्नुभयो ।
बैठकमा गृहमन्त्री निधिले पछिल्लो समय काभ्रे, चितवन र बझाङ्मा भएको सवारी साधन दुर्घटनामा भएको जनधनको क्षतिको विवरण पनि प्रस्तुत गर्नुभयो । रासस